धादिङ– नेत्रावती डवजोङ गाउँपालिकामा शिक्षकहरूका लागि दुईदिने आइटम राइटिङ (Item Writing) कार्यशाला सञ्चालन गरेको छ । गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले विद्यालयस्तरको सिकाइ उपलब्धि आदानप्रदान गर्ने तथा शैक्षिक सुधारमा सहयोग पुर्याउने उद्देश्यले कार्यशालाको आयोजना गरेको हो ।
कार्यशालामार्फत विषयगत सिकाइ उपलब्धिको मूल्याङ्कनका लागि गुणस्तरीय प्रश्न निर्माण तथा परीक्षण प्रणालीलाई थप प्रभावकारी बनाउने लक्ष्य लिइएको गाउँपालिकाका शिक्षा अधिकृत सुशीला ङ्याङजोले बताइन् ।
गाउँपालिका अध्यक्ष मेघनाथ रिजालले मुस्कानसहित पढ्ने र पढाउने वातावरण निर्माण गर्न गाउँपालिकाले नीति, कार्यक्रम तथा बजेटमार्फत शैक्षिक क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताए । विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विभिन्न प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्दै माध्यमिक शिक्षा परीक्षा (SEE) मा ४ जीपीए प्राप्त गर्ने विद्यार्थीलाई दुई लाख रुपैयाँ तथा शतप्रतिशत नतिजा ल्याउने विद्यालयलाई दुई लाख रुपैयाँ पुरस्कार प्रदान गर्ने निर्णय गरिएको उनले बताए ।

‘शिक्षक, विद्यार्थी र अभिभावकबीचको एकता र सहकार्यबाट मात्रै शैक्षिक सुधार तथा उत्कृष्ट नतिजा हासिल गर्न सकिन्छ । यस्ता तालिमले गाउँपालिकाको शिक्षामा उल्लेखनीय फड्को मार्न सहयोग पुग्ने विश्वास रहेको छ’ उनले भने ।
प्रमुख प्रशासकीय अधिकृत सन्देश प्रसाद जोशीले तालिमले शैक्षिक सुधार र गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने बताए । ‘शिक्षकहरूको क्षमता विकासमार्फत सिकाइ उपलब्धि मापनलाई प्रभावकारी बनाउन सकिन्छ । यस्ता कार्यक्रम प्रत्यक्ष रूपमा विद्यार्थीको नतिजा र भविष्यसँग जोडिएको छ । हामिले सिकाई उपलब्धि र नतिजासङ्ग जोड्नु पर्छ’ उनले भने ।
दुई दिनसम्म सञ्चालन हुने कार्यशालामा सहभागी शिक्षकहरूले विषयगत प्रश्न निर्माण, परीक्षण तथा मूल्याङ्कनका विविध पक्षबारे अभ्यासात्मक प्रशिक्षण प्राप्त गर्नेछन्। गाउँपालिकाले यस्ता कार्यक्रममार्फत विद्यालय शिक्षाको गुणस्तर सुधार गर्दै विद्यार्थीको सिकाइ उपलब्धि बढाउने अपेक्षा गरेको छ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
