काठमाडौं– धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-७ मा सञ्चालन भइरहेको बागमती प्रदेश सरकारको ‘एक वडा-एक कृषि उत्पादन’ कार्यक्रमले स्थानीय किसानलाई व्यावसायिक भैंसीपालनतर्फ आकर्षण थपेको छ । अनुदान, प्रविधि, तालिम र बीमासहितको एकीकृत सहयोगका कारण दूध उत्पादन विस्तार तथा गाउँमै रोजगारी सिर्जना भएसङ्गै किसानको आम्दानीमा वृद्धि भएको हो ।
पशु सेवा कार्यालय धादिङ र त्रिपुरेश्वर भैंसी प्रवर्द्धन कृषक समूहको साझेदारीमा सञ्चालित कार्यक्रमअन्तर्गत खहरे, लपाङ, अचनेटार र सिउरेनीका २१ घरधुरी लाभान्वित बनेका छन् । हालसम्म २१ घरधुरीले भैंसी प्राप्त गरिसकेका छन्। तीमध्ये चार परिवारलाई दुई-दुई वटा र १७ परिवारलाई एक-एक वटा भैंसी वितरण गरिएको छ। साथै पशुपालनलाई सहज बनाउन एक थान मिल, ११ वटा च्याप कटरलगायत आवश्यक उपकरण पनि उपलब्ध गराइएको छ।
आर्थिक वर्ष २०८१/८२ देखि सुरु भएको यो कार्यक्रम पाँच वर्षसम्म सञ्चालन हुनेछ। कुल ६६ लाख ६६ हजार ६६६ रुपैयाँ लागत रहेको कार्यक्रममा पशु सेवा कार्यालय धादिङले ४० लाख रुपैयाँ, त्रिपुरासुन्दरी गाउँपालिकाले १३ लाख ३३ हजार ३३३ रुपैयाँ तथा कृषकहरूले पनि १३ लाख ३३ हजार ३३३ रुपैयाँ बराबरको साझेदारी लगानी गरेका छन्।
कार्यक्रमअन्तर्गत भैंसी वितरणसँगै आधुनिक गोठ निर्माण, उन्नत घाँसको बीउ तथा बिरुवा वितरण, पशु स्वास्थ्य सेवा, आवश्यक औषधि, प्राविधिक तालिम र पशु बीमाजस्ता सुविधा पनि प्रदान गरिँदै आएको छ। यसले पशुपालनलाई सुरक्षित, व्यवस्थित र उत्पादनमुखी बनाउन सहयोग पुगेको जनाइएको छ।
त्रिपुरेश्वर भैंसी प्रवर्द्धन कृषक समूहका अध्यक्ष कृष्णकुमार श्रेष्ठले कार्यक्रमले किसानमा व्यावसायिक सोच र आत्मविश्वाससहित आत्मनिर्भर बनाएको बताए । यसको निरन्तरताले त्रिपुरासुन्दरीलाई दुग्ध उत्पादनको नमुना क्षेत्रका रूपमा विकास गर्न सकिने उनको भनाई छ ।
पशु सेवा कार्यालय धादिङका प्रमुख डॉक्टर बब्लु ठाकुरले स्थानीय स्तरमा दूध उत्पादन बढाउने, किसानको आयआर्जन वृद्धि गर्ने तथा व्यावसायिक पशुपालन विस्तार गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए। समुदायमा आधारित उत्पादन प्रणालीले किसानलाई आत्मनिर्भर बनाउँदै ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउन महत्वपूर्ण योगदान पुग्ने उनले बताए ।
त्रिपुरासुन्दरी गाउँपालिकाका उपाध्यक्ष देवराज धरेलले कृषि र पशुपालनलाई स्थानीय सरकारको प्राथमिकतामा राखेर कार्यक्रम अघि बढाइएको बताए। उत्पादन, रोजगारी र आयआर्जन वृद्धि गर्दै ग्रामीण विकासमा दीर्घकालीन योगदान पुर्याउने अपेक्षा गरिएको उनको भनाइ छ।
कार्यक्रमबाट लाभान्वित किसानहरूले अनुदान, उपकरण, तालिम र प्राविधिक सहयोगका कारण व्यवसाय विस्तार गर्न सहज भएको बताएका छन्। परम्परागत रूपमा सीमित संख्यामा भैंसी पाल्दै आएका किसानले अहिले गोठ विस्तार गर्दै भैंसीको संख्या बढाउन थालेका छन्। दूध उत्पादन वृद्धि, आम्दानी विस्तार र गाउँमै रोजगारीको अवसर सिर्जना हुने विश्वास उनीहरूको छ।
प्रदेश सरकार, स्थानीय तह र किसानको साझेदारीमा सञ्चालन भइरहेको यो कार्यक्रमले व्यावसायिक भैंसीपालनमार्फत ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने स्थानीय उत्पादन बढाउने र कृषिमा आत्मनिर्भरता उन्मुख भएको त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीले बताए । ‘पालिकाले पनि शिक्षा स्वास्थ्य कृषि तथा पशुपालन लगायतका क्षेत्रमा विशेष प्राथमिकता दिएर काम गर्दै आएको छ। यस्ता परियोजना तथा कार्यक्रमले स्थानीय उत्पादनलाई बढाउन र बजारीकरण गर्न सहयोग मिलेको छ’ उनले भने ।

