काठमाडौं– बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा लुछेको आरोपमा चितवन प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले बगाएर त्रिशूली–नारायणी नदी किनारमा ल्याएको शवबाट सुनको मुन्द्रा लुछ्ने दुई जनालाई पक्राउ गरिएको हो ।


मानवताको संवेदनशीलता नै गुमाएको उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले उनीहरूको पहिचान गरी नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–१ स्थायी घर भई हाल भरतपुर महानगरपालिका–१ लीलाचोकमा मामाघर बस्दै आएका २५ वर्षीय मदन गुरुङ र सुनसरीको चाँदबेला नगरपालिका–५ स्थायी घर भई हाल भरतपुर महानगरपालिका–२ पोखरा बसपार्कस्थित सुपारीटोलमा बस्दै आएका ३८ वर्षीय उमेश चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनीहरुलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान सुरु गरिएको छ ।
बाढीले बगाएर ल्याएको शवबाट कानमा लगाइएको सुनको मुन्द्रा निकालिरहेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले तत्काल भिडियोको सत्यता जाँच गर्न थालेको थियो । भिडियोमा देखिएका व्यक्तिहरूको पहिचान खुलाएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेका दुवै जनामाथि प्रचलित कानुनअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
