काठमाडौं– सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिका–४, कप्तानगंजमा घटेको दुःखद घटनाप्रति हिन्दु युवा बाहिनीले सरकारलाई ध्यानाकर्षण गराएको छ।
सामान्य विवादलाई राज्य प्रशासनले संयम, विवेक र कानुनी प्रक्रिया अनुसार समाधान गर्न नसक्दा प्रहरीद्वारा चलाइएको गोली लागि देवानगञ्ज गाउँपालिका–४ का ओमप्रकाश मेहेताको निधन भएको तथा दर्जनौँ नागरिक घाइते भएको घटना प्रेस विज्ञप्ति जारी गर्दै सरकारको ध्यानाकर्षण गराएको हो ।
नागरिकको जीवनरक्षा गर्नु राज्यको पहिलो दायित्व हो। गोली चलाउनु अन्तिम विकल्प नहुनुपर्ने अवस्थामा पनि त्यसको प्रयोग भई एक निर्दोष हिन्दु युवाको ज्यान जानु अत्यन्त गम्भीर विषय हो। यस घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कानुनबमोजिम निष्पक्ष र कडा कारबाही गरिनु पर्ने प्रेस विज्ञप्तिमा उल्लेख छ । मृतकका परिवारलाई उचित राहत, क्षतिपूर्ति तथा घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्न हामी सरकार तथा सम्बन्धित निकायसँग जोडदार माग गर्ने हिन्दू युवा बाहिनी अभियन्ता सञ्जय सिलवाले बताए ।
‘हिन्दु युवा वाहिनी सबै पक्षलाई संयमता अपनाउन, सामाजिक सद्भाव कायम राख्न तथा कुनै पनि प्रकारका अफवाह, उत्तेजना र हिंसात्मक गतिविधिबाट टाढा रहन हार्दिक आग्रह गर्दछौं। शान्तिपूर्ण संवाद, कानुनी प्रक्रिया र आपसी सहकार्यबाट मात्र यस्ता समस्याको दीर्घकालीन समाधान सम्भव हुने हाम्रो विश्वास छ’ उनले भने ।


स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
