गुम्दीमा गाउँको विकासमा सहयोग गर्ने ५८ जना सम्मानित

  • २०८३ कार्तिक ८, शनिबार (१ घण्टा अघि)
  • ५ पटक पढिएको
गुम्दीमा गाउँको विकासमा सहयोग गर्ने ५८ जना सम्मानित

धादिङ– धादिङको गङ्गाजमुना गाउँपालिका–३ गुम्दीमा लाहुरे भित्र्याउने तथा सामुदायिक भवन निर्माणमा सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको छ । दशैं तिहार विशेष कार्यक्रमकाविच स्वदेश तथा परदेशबाट गाउँको विकासमा आर्थिक र भौतिक सहयोग गर्ने ५८ जना सहयोगीलाई सम्मान गरिएको हो ।

Advertisement

गङ्गाजमुना गाउँपालिका–४ गुम्दीस्थित सामुदायिक भवनमा मंगलबार लगनशील स्वावलम्बी आमा कृषक समूहको आयोजना र गुम्दी युवा क्लबको समन्वयमा आयोजित कार्यक्रममा तीन हजारदेखि एक लाख १० हजार रुपैयाँसम्म सहयोग गर्ने ४२ घरपरिवारका ५८ जनालाई सम्मान गरिएको हो ।

कार्यक्रममा सामुदायिक भवन निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराउने पदमबहादुर गुरुङलाई विशेष सम्मान गरिएको छ । आमा समूहलाई ३५ सेट यूके स्वीटर उपलब्ध गराउने जानु घलेलाई पनि सम्मान गरिएको हो ।

कार्यक्रममा गुम्दी युवा क्लबले १७ हजार रुपैयाँ, टोपबहादुर गुरुङले १० हजार, प्रेमबहादुर घलेले पाँच हजार, हरिबहादुर गुरुङ (लामा) र बहादुरसिं घलेले जनही तीन हजार, नरबहादुर गुरुङले २ हजार ५०, पवीमाया गुरुङ र प्रेम बहादुर गुरुङले जनही एक हजार रुपैयाँसहित विभिन्न व्यक्तिले आर्थिक सहयोग गरेको लगनशील स्वावलम्बी आमा कृषक समूहकी अध्यक्ष सुष्मा घलले जानकारी दिइन् ।

कार्यक्रममा सांस्कृतिक कार्यक्रममा स्थानीयले विभिन्न नृत्य प्रस्तुत, दशैं तिहार शुभकामना आदानप्रदान तथा सहयोगी दाताहरुलाई सम्मान गरिएको हो । ‘वडाले दिएको उद्घोषण तालिमपछि महिला दिदिबहिनीहरुमा बोल्ने कलाको विकास भएको छ । जसले गर्दा निर्धक्क रुपमा मन्तव्य राख्न सकेका छन् । यस्तै तालिमको अझै आयोजना गर्न सकिए गाउँको विकासका लागि योजना माग तथा विकासमा अझै अग्रसर हुन सक्ने देखिन्छ’ उनले भनिन् ।

२०८० बैशाख १ गते ३५ जना सदस्यबाट सुरु भएको लगनशील स्वावलम्बी आमा कृषक समूहको आम्दानी ५ लाख ३१ हजार ४ सय ५ रुपैयाँ रहेको अध्यक्ष घलले बताइन् । समूहले लाहुरे भित्र्याउने, चाडपर्व विशेष कार्यक्रम, आर्थिक अवस्था कमजोर भएकालाई सहयोग, गुम्बामा हुने कार्यक्रममा सहयोग, सामाजिक कार्यमा सहयोग लगायतका कार्यक्रमहरु गर्दै आएको उनले जानकारी दिइन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट