धादिङ– ढाका बुन्दै गरेका धादिङका महिलाहरुलाई डिजिटल मार्केटिङ तालिम दिइएको छ । प्रविधिसँग जोड्दै आफ्नो सीप र उत्पादनको बजार विस्तार गर्ने, उत्पादनको प्रचारप्रसार, बजारीकरण र बिक्री वितरणमा सक्षम बनाउने उद्देश्यले डिजिटल मार्केटिङ तथा डिजिटल कन्टेन्ट उत्पादनसम्बन्धी तालिम प्रदान गरिएको हो ।


धादिङको नीलकण्ठ नगरपालिका–५ र नेत्रावती डबजोङ गाउँपालिका–५ का महिलालाई लक्षित गरी ग्रामीणमुखी युवा अभियान (रोयम नेपाल) ले एईआईएन (AEIN) को सहयोगमा जिविका परियोजना अन्तर्गत दुईदिने तालिम सञ्चालन गरिएको हो ।
तालिममा डिजिटल मार्केटिङ, डिजिटल कन्टेन्ट उत्पादन, मोबाइलबाट फोटो तथा भिडियो खिच्ने, सम्पादन गर्ने, सामाजिक सञ्जालको प्रयोग तथा उत्पादित ढाकाका सामग्रीको अनलाइन बजारीकरण र विक्री वितरण, अनलाइन ठगी लगायतका विषयमा पत्रकार अर्जुन श्रेष्ठले सहजीकरण गरेका थिए ।
तालिममा सहभागी महिलाहरूले आफूले उत्पादन गरेका ढाका टोपी, सल, पछ्यौरीलगायतका सामग्रीको फोटो तथा भिडियो आफैँ तयार गरी सामाजिक सञ्जालमार्फत प्रचारप्रसार र विक्री गर्न सक्ने बताएका छन् । उनीहरूले प्रविधिको प्रयोगबाट आफ्नो उत्पादनलाई स्थानीय बजारमा मात्र सीमित नराखी फराकिलो बजारसम्म पु¥याउन सकिने विश्वास व्यक्त गरेका छन् ।
रोयम नेपालबाट तालिम लिएका यी महिलाहरू घरमै तान बुनेर ढाकाका सामग्री उत्पादन गर्दै आएका छन् । परम्परागत सीप र प्रविधिलाई जोडेर उत्पादनको पहिचान स्थापित गर्ने, बजार विस्तार गर्ने र आम्दानीका अवसर बढाउने लक्ष्य तालिमले लिएको रोयम नेपालका जिल्ला परियोजना संयोजक हरिशरण धितालले बताए । परम्परागत सीपलाई आधुनिक प्रविधिसँग जोड्न सके महिलाहरूको श्रम र उत्पादनले उचित बजार तथा मूल्य पाउने अपेक्षाले तालिमको आयोजना गरिएको उनले बताए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
