धादिङ– सामाजिक सञ्जाल र सञ्चारमाध्यमको शक्तिको आडमा सरकार परिवर्तन गरेर सत्तामा पुगेकाहरू अहिले सञ्चारमाध्यममाथि नै अंकुश लगाउन खोजिरहेको सांसद गङ्गादेवी श्रेष्ठले बताएकी छन् । प्रेस चौतारी धादिङले आयोजना गरेको शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रममा बोल्दै सांसद श्रेष्ठले वर्तमान सरकारले सञ्चारमाध्यमलाई कमजोर बनाउँदै बन्द गराउने रणनीति अपनाएको बताएकी हुन् ।


सामाजिक सञ्जाल र सञ्चारमाध्यमको शक्ति तथा एल्गोरिदमबारे राम्रोसँग बुझेको सरकारले विगतका सरकारको जस्तै अवस्था नदोहोरियोस् भन्ने उद्देश्यले सञ्चारमाध्यमलाई कमजोर बनाउन खोजेको उनले बताइन् । ‘३५ वर्षसम्म केही नगरेको भन्दै अहिलेको सरकारले आफ्ना राम्रा पक्षको प्रचारप्रसार गरिरहेको छ,’ उनले भनिन्, ‘प्रचारप्रसारकै माध्यमबाट नागरिकको आँखामा भ्रम छर्ने प्रयास भइरहेको छ ।’
आफू सधैँ प्रेस स्वतन्त्रताको पक्षमा रहेको उल्लेख गर्दै सांसद श्रेष्ठले सञ्चारमाध्यममाथिको हस्तक्षेप स्वीकार्य नहुने बताइन् ।
कार्यक्रममा उनले धादिङको फुर्केखोलामा पक्की पुल निर्माणका लागि पहल गर्ने प्रतिबद्धतासमेत जनाइन् । धादिङबेँसीसहित जिल्लाका आठ स्थानीय तहलाई राष्ट्रिय राजधानीसँग जोड्ने सडकको महत्त्वपूर्ण पुल बगाउँदा यात्रुले लामो समयदेखि सास्ती खेप्नुपरेको छ । फुर्केखोलामा बेलीब्रिज तथा स्थायी पक्की पुल निर्माणको प्रतीक्षामा रहेका स्थानीयलाई धादिङका १३ वटै स्थानीय तहको समन्वयमा तिहारलगत्तै पन्टुन ब्रिज सञ्चालन गर्ने तयारीले केही राहत पुग्ने उनले बताइन् ।
उनले फुर्केखोलामा स्थायी पक्की पुल निर्माणसँगै वैकल्पिक मार्गको स्तरोन्नति र कालोपत्रेका लागि पनि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन् । ‘नागरिकका समस्या समाधान गर्न र धादिङको विकासमा हामी सधैँ तयार छौँ,’ उनले भनिन् ।
कार्यक्रममा नेकपा एमाले धादिङका अध्यक्ष अर्जुन गोर्खालीले सञ्चारमाध्यम र पत्रकारलाई क्षमता अभिवृद्धि तथा आत्मनिर्भर बनाउन सहयोग गर्ने बताए ।
नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकारहरुको सुरक्षा महासंघको प्राथमिकतामा रहेको बताए । प्रविधिको विकाससँगै पत्रकारहरू पनि अद्यावधिक हुँदै जानुपर्नेमा जोड दिँदै उनले सञ्चारमाध्यममार्फत देशको विकास र सामाजिक रूपान्तरणमा सहकार्य गर्न महासंघ तयार रहेको बताए ।
प्रेस चौतारी धादिङका अध्यक्ष अर्जुन श्रेष्ठले पत्रकारहरूको क्षमता अभिवृद्धिदेखि सञ्चारमाध्यमलाई आत्मनिर्भर बनाउने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
