एमाले धादिङको अधिवेशन विवाद: अध्यक्ष मण्डलको नेतृत्व नपाएसम्म बन्दसत्र चल्न नदिने मुडमा लोहनी पक्ष

  • २०८० माघ २०, शनिबार (५ महिना अघि)
  • २११ पटक पढिएको
एमाले धादिङको अधिवेशन विवाद: अध्यक्ष मण्डलको नेतृत्व नपाएसम्म बन्दसत्र चल्न नदिने मुडमा लोहनी पक्ष

 

Advertisement

काठमाडौं– नेकपा एमाले धादिङको नवौं जिल्ला अधिवेशनको बन्दसत्र सुरु हुने बित्तिकै स्थगित भएको छ ।

पार्टी अध्यक्ष भुमी त्रिपाठीले औपचारिक रुपले बन्दसत्रमा अध्यक्ष मण्डलको अध्यक्षमा धर्मभक्त देवकोटाको नाम घोषणा भएलगत्तै नेता खेम लोहनी पक्षका नेता कार्यकर्ताले बोलिरहेको माइक समेत थुतेर हुलदंगा गराएका हुन् ।

हिजो (माघ १९ गते) सदरमुकाम धादिङबेसीमा उद्घाटन सत्र सम्पन्न भएपछि साँझ पार्टी कार्यालयमा बसेको जिल्ला कमिटी बैठकले प्रतिनिधिलाई अन्तिम रुप दिने र अध्यक्ष मण्डलको गठन गर्ने एजेन्डा पारित गरेको थियो ।

जिल्ला कमिटीको बैठकले जिल्ला इन्चार्ज धर्मदत्त देवकोटाको अध्यक्षतामा सह इन्चार्जद्वय जानुका सिंखडा र रेशम लामा, प्रदेश कमिटीका सदस्यद्वय धन बहादुर घले र ध्रुव विश्वकर्मालाई सदस्यको जिम्मेवारी दिने निर्णय भएको थियो । अध्यक्ष मण्डलको अध्यक्षमा प्रदेश इन्चार्ज गुरु बराल रहनुपर्छ भन्ने दावीका साथ सिन्धुली जिल्ला इन्चार्ज खेम लोहनी र बागमती प्रदेशका अध्यक्ष कैलाश ढुंगेलले बैठक सकिएपछि विवाद सिर्जना गरेका थिए ।

 

प्रदेश कमिटीका सदस्य रमेश आचार्यले प्रतिनिधिलाई उत्तेजित बनाउँदै होहल्ला सुरु गरेका थिए । होहल्लाकै समयमा जिल्ला सहइन्चार्ज जानुका सिंखडा र उपसचिव हरिराम लोहनीले साथ दिएका थिए । विवादपछि रातभर बसेको द्वीपक्षीय वार्ता निष्कर्षविहिन बनेको थियो । जिल्ला अध्यक्षले प्रदेशबाट आमन्त्रित नेताहरुलाई अतिथिको रुपमा तटस्थ अभिभावकीय भुमिका निर्वाह गर्न आग्रह गरेका थिए । आज बन्दसत्र सुरु भएर बन्दसत्रको अध्यक्ष मण्डलको अध्यक्षमा देवकोटालाई स्वीकार गर्न नसकिने र अध्यक्ष मण्डलको नेतृत्व गुरु बराललाई दिनुपर्ने माग गर्दै होहल्ला गरेका हुन् ।

पार्टी अध्यक्ष भुमी त्रिपाठीले अध्यक्ष मण्डलको नाम घोषणा गरेलगतै गंगादेवी श्रेष्ठ त्रिपाठी बोलिरहेको माइक तान्न पुगेकी थिइन् । त्यसपछि प्रदेश कमिटीका सदस्य रमेश आचार्य, जिल्ला उपसचिव हरिराम लोहनी, जिल्ला सदस्य नेत्र नेपाल लगायतले अन्य प्रतिनिधिहरुलाई उठेर विरोध गर्न संकेत गरेपछि मुठभेटको अवस्था सिर्जना भएको एक प्रतिनिधिले बताए । करिव डेढ घण्टासम्म चलेको हुलहुज्जतको समयमा अध्यक्षका आकांक्षी डा.रामकुमार अधिकारी समेत रोस्ट्रममा रहेको माइक तान्न पुगेका थिए । लोहनी पक्षका नेता कार्यकर्ताले अहिले पनि नाराबाजी गरिरहेका छन् ।

अध्यक्ष मण्डलको नेतृत्व गुरु बराललाई सुम्पिएर अधिवेशनको समय लम्ब्याउँदै कमिटी कब्जा गर्ने तयारी गरेको र त्यो सम्भव नभए अनन्तसम्म कमिटी विहिन बनाउन उद्दित रहेको प्रतिनिधिहरुको बुझाई छ । बन्दसत्र सुरु हुन नसकेकोमा आक्रोश व्यक्त गर्दै प्रतिनिधिहरुले छिटो प्रक्रिया अगाडि बढाउन माग गरेका छन् । जिल्लाको आन्तरिक मामिलामा माथिल्लो तहको हस्ताक्षप भएको भन्दै नेतृत्व विरुद्ध नारावाजी समेत गरेका छन् ।

आफ्नो नेतृत्व आफै छान्न पाउने माग राख्दै प्रतिनिधिहरुले तत्काल प्रक्रिया सुरु गरेर प्राप्त परिणामलाई स्वीकार गर्न आग्रह गरेका छन् । अधिवेशनमा वर्तमान अध्यक्ष भुमी त्रिपाठी र नेता खेम लोहनीको तर्फबाट डा.राम कुमार अधिकारी अध्यक्षको उम्मेदवारी घोषणा गरेका छन् । उपस्थित प्रतिनिधिहरुसंग बुझ्दा त्रिपाठीको पक्षमा झण्डै दुई तिहाई मत देखिएको छ ।

आफ्नो पक्षमा मत नपर्ने संकेत पाएपछि लोहनी धारका नेताहरुले जनवर्गीय संगठन र विभागहरुबाट आएको तीन/तीन जना प्रतिनिधिहरुलाई घटाएर एक जना मात्रै राख्न माग गरिरहेका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    खोजी गर्नुहोस

    ताजा अपडेट