पहाडको चुचुरामा धादिङको ऐतिहासिक भैरवी मन्दिर

  • २०८० माघ २४, बुधबार (५ महिना अघि)
  • ३५४ पटक पढिएको
पहाडको चुचुरामा धादिङको ऐतिहासिक भैरवी मन्दिर

काठमाडौं- दुईतिर कहाली लाग्दो भिर, भिरको बीचमा मन्दिर प्रवेश गर्ने सिँढी । माछीकाँडे भौगोलिक बनोवटको टुप्पोमा बन्दै गरेको नयाँ मन्दिर । यो दृश्य धादिङको भैरवी भन्दिर हो । पहाडको चुचुरोमा रहेको यो ऐतिहासिक भैरवी मन्दिर अहिले आकर्षणको केन्द्र बनेको छ ।

Advertisement

धादिङको नीलकण्ठ नगरपालिका– ६ सुनौलाबजारमा रहेको धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको भैरवी मन्दिर आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बनेको छ । गणेश हिमाल, मनास्लु, माछापुच्छ्रे, मानापाथीलगायत आधा दर्जनभन्दा बढी हिमालहरूको दृश्यावलोकन गर्न सकिने यो मन्दिरमा दर्शनार्थीको निकै ठूलो घुइँचो लाग्ने गर्छ ।

पुजारी भगवान राना मगरका अनुसार भगवान् भैरवको श्रीमती भैरवीलाई सुत्केरी भएको अवस्थामा मासु खान मन लाग्यो । बाघको रूप धारण गरेर भैरव मासु लिन जंगल गए । सुँगुरको सिकार गरेर फर्किए । सुँगुर भन्ने थाहा पाएपछि भैरवी डराएर त्यहीँ घोप्टो परेर बसिन् । भैरवलाई भित्र पस्न दिएनन् । प्रसव पीडाको अवस्थामा भैरवीलाई छाडेर भैरव पनि टाढा जान नसकेपछि नजिकै तल्लोपट्टि बसे । त्यसैले भैरवी र भैरव दुईवटा मन्दिर बनेको पौराणिक भनाइ र किंवदन्ती रहेको छ ।

‘राम शाहले विसं १६६६ मा स्थापना गरेको आठ शक्तिपीठमध्ये भैरवी मन्दिर पनि एक हो । उनले स्थापना गरेको कुरा लालमोहरमा लेखिएको छ । तर, स्पष्ट बुझिने गरी छैन’, भैरवी मन्दिर गुठी व्यवस्थापन समितिका सचिव कृष्णबहादुर श्रेष्ठले भने । भैरवी मन्दिरको इतिहास नेपालको एकीकरणसँग पनि जोडिएको श्रेष्ठले बताए । पृथ्वीनारायण शाहले नुवाकोट विजय गर्न नसकेपछि भैरवी मन्दिरमा वास बसी भाकल गरेका थिए । श्रेष्ठले भने, ‘भाकलपछि नुवाकोट जिते । पुजारी र बाजा बजाउनेलाई शाहले गुठीको नाममा ९० रोपनी ११ आना २ पैसा जग्गा व्यवस्थापन गरिदिएका हुन् । पूजा सञ्चालनका लागि पनि रकम दिने गरेका थिए । अहिले पनि जिल्ला प्रशासन कार्यालयबाट पूजा सञ्चालनका लागि हरेक वर्ष ६ हजार सात सय ३२ रुपैयाँ ५० पैसा आउने गर्छ ।’

‘मन्दिरमा पूजासहित बडादसैँ र चैतेदसैँमा विशेष मेला लाग्छ । मन्दिरमा विशेष पूजा, भाकल तथा बली चढाउने परम्परा रहिआएको छ । वडादसैँको नवमीका दिन सु्ँगुरको बली दिँदै आएको छ,’ श्रेष्ठले भने, ‘मन्दिर आइपुग्न सदरमुकामबाट ८ किमि पिच र १० किमि कच्ची गरी १८ किलोमिटरको यात्रापछि भैरवी मन्दिर पुगिन्छ । सवारीसाधनबाट मात्र भई हाइकिङ गर्नेहरू पनि भैरवी मन्दिर आइपुग्ने गरेका छन् ।’

२०७२ को भूकम्पले मन्दिर भत्किएपछि अहिले पुनर्निर्माण भइरहेको छ । २०७६ साल फागुन २३ गते मन्दिरको शिलान्यास गरिएको हो । १३ करोडको डिपिआर गरेर निर्माण कार्य सुरु गरिएको मन्दिरको चार करोडबराबर खर्चले पुनर्निमार्ण भइरहेको भैरवी मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष धु्रव श्रेष्ठले बताए ।
नीलकण्ठ नगरपालिकाले पर्यटन प्रवद्र्धनमा विशेष प्राथमिकता दिएको नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्माले बताए । ‘भैरवी मन्दिरको पुनर्निमाणमा नगरपालिकाले सहयोग गरिरहेको छ ।
‘भैरवी मन्दिर जाने सडक निर्माण, मन्दिर वरिपरी पार्क बनाउने तयारी भैरहेको छ । होमस्टे सञ्चालन तथा विकासका लागि पनि प्रदेश सरकारसँग समन्वय भैरहेको छ’, उनले भने– ‘भैरवी मन्दिर नीलकण्ठ नगरपालिकाको चिनारी पनि बनेको छ । बजेट विनियोजन, पुर्ननिर्माण, पर्यटन प्रवद्र्धन तथा प्रचारप्रसारमा पनि लागिरहेका छौं ।’
भैरवी मन्दिरले वडाको मात्र चिनारी नभइ जिल्ला तहमै यसले ठूलो महत्व बोकेको नीलकण्ठ नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष भुपेन्द्र कुमार श्रेष्ठले बताए । ‘प्रचारप्रसारमा लागिरेहका छौं । ठूलो रकमको डिपिआर भएकोले पुनिर्माणको काममा ढिलाई भएको हो । तर भैरवी मन्दिरको पुर्ननिर्माण सम्पन्न भएपछि पर्यटन प्रवद्र्धन र जिल्लाकै चिनारी हुने अपेक्षा गरिएका छौं’ उनले भने ।

मन्दिर आइपुग्नेहरू धार्मिक महत्वका साथै प्राकृतिक सुन्दरताले पनि लोभिने गरेको नीलकण्ठ नगरपालिका–७ का कार्यवाहक वडाअध्यक्ष युवराज पोखरेलले बताए । ऐतिहासिक महत्व बोकेको भैरवी मन्दिरको प्रचारप्रसार हुन सके जिल्लामा मात्र नभई राष्ट्रिय स्तरमै पहिचान हुने उनको भनाई छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट