





























धादिङ– फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) धादिङबाट समानुपातिक तर्फ सिफारिस भएका शेरबहादुर तामाङ (शिलास) को नाम अन्तिम समयमा सूचीबाट हटाइएको छ । धादिङ जिल्लाबाट शेरबहादुर तामाङ र इन्दिरा ढुंगानाको नाम समानुपातिक उम्मेदवारका रूपमा सिफारिस गरिएको भए पनि अन्तिम चरणमा तामाङको नाम निर्वाचन आयोगमा नपरेपछि राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ ।


तामाङले पार्टीले आफ्नो इमान, इज्जत र प्रतिष्ठामा गम्भीर आघात पु¥याएको बताएका छन् । ‘पार्टीले नाम सिफारिस गरेपछि बन्द सूचीमा परेँ र त्यही विश्वासमा गाउँ–गाउँ पुगेर भोट मागेँ। म मात्र होइन, मेरो समुदाय पनि खुसी थियो। तर अहिले निर्वाचन आयोगको सूचीमा मेरो नाम नै छैन। योभन्दा ठूलो घात र बेइज्जत अरू के हुन सक्छ ?’ उनले भने ।
लामो समयदेखि समाजसेवामा सक्रिय रहँदै आएका तामाङले पार्टीको निर्णयप्रति गम्भीर असन्तुष्टि जनाएका छन्। ‘जनताको सेवक भएर अझ प्रभावकारी रूपमा समाजसेवा गर्ने विश्वासका साथ अघि बढेको मलाई पार्टीले कुठाराघात ग¥यो। कसको निर्णयमा, किन मेरो नाम हटाइयो ? यसको जवाफ पार्टी र सम्बन्धित निकायले दिनुपर्छ,’ उनले बताए ।
‘पार्टीले पनि सोचविचार गर्नुपर्छ । यस्ता भोगाईहरुबाट पाठ सिक्नुपर्छ । यो परिस्थितिले मलाई धेरै कुरा सिकायो । भविष्यमा पनि राजनीतिक यात्रालाई निरन्तरता दिनेछु’ तामाङले भने, ‘राजनीति धोका र अविश्वासको माध्यम होइन, इमान्दारिता, पारदर्शिता र जनसेवाको भावनाबाट अघि बढ्नुपर्छ भन्ने मेरो दृढ विश्वास छ। विचार र उद्देश्य मिले सहकार्यको ढोका खुला छ, तर मेरो छवि र जनताको विश्वासमाथि खेलवाड स्वीकार्य हुँदैन।’
उनले निर्वाचनअघि फोनकल, एसएमएस, सामाजिक सञ्जाल तथा प्रत्यक्ष भेटघाटमार्फत भोट मागिसकेकाले सूचीमा नाम नदेखिएपछि आम मतदातासँग क्षमा मागेका छन्। ‘निर्वाचन आयोगले सार्वजनिक गरेको सूचीमा मेरो नाम नभएकाले सबैमा क्षमायाचना गर्दछु। तर भविष्यमा राजनीतिमार्फत नै तपाईंहरूको सेवा गर्न पुनः आउनेछु,’ तामाङले भने।
जन जागरण पार्टी नेपाल हुँदै नेपाली कम्युनिष्ट पार्टीबाट सिफारिस भएका तामाङको नाम कसरी र कसले हटायो भन्ने विषयमा पार्टीका जिम्मेवार नेताहरू समेत अनविज्ञ रहेको बताइएको छ। जन जागरण पार्टी नेपालका अध्यक्ष डा. विपी खनालले पार्टी र तामाङसँग कुनै छलफल नगरी नाम हटाइएको बताएका छन्। ‘सिफारिस भइसकेको नाम निर्वाचन आयोगको अन्तिम सूचीमा नदेखिँदा हामी सबै आश्चर्यमा प¥यौँ। शिलासजीमाथि गम्भीर अन्याय भएको छ,’ उनले भने। अन्य दललाई भाग पु¥याउने क्रममा तामाङको नाम हटाइएको आशंका व्यक्त गर्दै खनालले बन्द सूची व्यवस्थापनमा संलग्न व्यक्तिहरूले खेलवाड गरेको आरोप लगाए । निर्वाचन आयोगले अन्तिम सूची सार्वजनिक गरिसकेकाले हालका लागि सुधारको सम्भावना नरहेको खनालको भनाइ छ।

