काठमाडौं– नुवाकोटको बेलकोटगढी नगरपालिका–१, शेरास्थित बेलकोट भञ्ज्याङ माध्यमिक विद्यालयले राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित कक्षा १२ को परीक्षामा शतप्रतिशत नतिजा हासिल गरेको छ।
विद्यालयबाट परीक्षामा सहभागी ११ जना विद्यार्थी सबै उत्तीर्ण भएका छन्। उत्तीर्णमध्ये ६ जनाले ‘ए’ ग्रेड प्राप्त गरेका छन्। विद्यालयको स्थापना कालदेखि हालसम्मकै यो उत्कृष्ट नतिजा रहेको प्रधानाध्यापक सुमन अधिकारीले बताए।

अधिकारीका अनुसार ग्रामीण क्षेत्रमा विद्यार्थी सङ्ख्या निरन्तर घट्दै जाने चुनौतीका बीच पनि विद्यालयले गुणस्तरीय शिक्षामा कुनै सम्झौता नगरी निरन्तर मेहनत गर्दै आएको परिणामस्वरूप यस्तो उपलब्धि हासिल भएको हो। ‘शतप्रतिशत उत्तीर्ण र ‘ए’ ग्रेडको उल्लेख्य नतिजाले विद्यालय परिवार, विद्यार्थी, शिक्षक तथा अभिभावक सबैलाई थप उत्साहित बनाएको छ। शिक्षक, विद्यार्थी र अभिभावकबीचको त्रिपक्षीय समन्वयकै कारण यो सफलता सम्भव भएको हो,’ उनले भने।
प्रधानाध्यापक अधिकारीले उत्कृष्ट नतिजा ल्याउने सम्पूर्ण विद्यार्थीलाई बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दै उनीहरूको शैक्षिक उन्नयनका लागि निरन्तर खटिने शिक्षक, विद्यालय व्यवस्थापन समिति, अभिभावक तथा विद्यालयप्रति सद्भाव राख्ने सम्पूर्ण शुभेच्छुकप्रति आभार व्यक्त गरे।
‘यो सफलता कुनै एक व्यक्ति वा समूहको मात्र उपलब्धि होइन, विद्यालय परिवार, अभिभावक र समुदायको सामूहिक प्रयास, विश्वास र समर्पणको प्रतिफल हो,’ उनले भने ।
सीमित स्रोत–साधन र ग्रामीण भेगमा विद्यार्थी अभावको चुनौती सामना गरिरहेको विद्यालयले पछिल्ला वर्षहरूमा शैक्षिक गुणस्तर सुधारमा उल्लेखनीय प्रगति गरेको छ। विद्यालयको भौतिक पूर्वाधार विकास, शैक्षिक वातावरणको सुदृढीकरण तथा अनुशासित शिक्षण–सिकाइ प्रक्रियाले विद्यालयलाई जिल्लाकै उदाहरणीय शैक्षिक संस्थाका रूपमा स्थापित गर्न मद्दत पुगेको अभिभावकहरूको भनाइ छ।


स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
