





























काठमाडौं– शुक्रवार रातिदेखिको वर्षाका कारण आएको बाढी र पहिरोले देशभरको ४४ वटा राष्ट्रिय सडकमा क्षति पुगेको छ ।


तीमध्ये अहिले २७ वटा सडक अवरुद्ध छन् । बाढी र पहिरोले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको नेपाल प्रहरीले जनाएको छ ।
बाढी र पहिरोले क्षति पुगेका ४४ मध्ये १७ वटा सडक एकतर्फी सञ्चालनमा आएका छन् । अवरुद्ध बनेकामध्ये केही सडक सञ्चालन गर्न चार÷पाँच दिन नै लाग्ने प्रहरीले जनाएको छ । कोशी प्रदेशको सङ्खुवासभामा दक्षिण कोशी र कोशी राजमार्ग अवरुद्ध छन् ।
त्यस्तै पहिरोले सुनसरीको चतरा–बराह क्षेत्रको भित्री सडक अवरुद्ध छ । पहिरोले बाग्मती प्रदेशका ६ वटा राजमार्गमा क्षति पु¥याएको छ । रसुवाको स्याफ्रुबेसी–थाम्बुचेत राजमार्ग खण्ड पूर्णरूपमा अवरुद्ध छ ।
त्यस्तै चितवनमा पृथ्वी राजमार्ग, मकवानपुरमा भीमफेदी–काठमाण्डौ–हेटौंडा, भीमफेदी–काठमाण्डौ र कान्ति लोकपथ तथा काभ्रेमा बीपी राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएका छन् ।
गण्डकी प्रदेशमा नौ वटा राजमार्गमा बाढी र पहिरोले क्षति पुगेको छ । बाढीले मनाङमा चामे–बेसीशहर, पहिरोले म्याग्दीमा बेनी–दरबाङ र बेनी–जोमसोम सडक पूर्ण रूपमा अवरुद्ध छन् ।
त्यस्तै स्याङ्जामा सिद्धार्थ राजमार्ग, नवलपरासी (पूर्व) मा कालीगण्डकी करिडोर, बाग्लुङमा मध्यपहाडी लोकमार्ग अवरुद्ध रहेको प्रहरीले जनाएको छ । पर्वतमा मालढुङ्गा–बेनी सडक, स्याङ्जामा सिद्धार्थ राजमार्ग र तनहुँमा पृथ्वी राजमार्ग पहिरो पन्छाएपछि एकतर्फी सञ्चालनमा आएका छन् ।
यसैगरी लुम्बिनीमा १७, कर्णालीमा तीन र सुदूरपश्चिममा पाँच वटा सडकमा बाढी र पहिरोले क्षति पुगेको छ । पहिरो पन्छाएर केही सडक सञ्चालनमा आएका छन् भने धेरैजसो सडक पूर्णरूपमा अवरुद्ध छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
