





























काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणले चालक दलको कमजोरीका कारण एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको जनाएको छ ।


प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको आजको बैठकमा प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले प्रारम्भिक प्रतिक्रिया दिँदै चालक दलको कमजोरीका कारण हेलिकप्टर दुर्घटनामा परेको बताएका हुन् ।
सिभिल एभिएशनको ‘भिजुअल फ्लाइट रुट’ (भीएफआर) ले अनुमति नदिएको खराब मौसम अर्थात् बादल भएको ठाउँमा हेलिकप्टर प्रवेश गराउँदा दुर्घटना भएको प्राधिकरणको दाबी छ ।
महानिर्देशक अधिकारीले भीएफआरको अनुमति विपरीत हेलिकप्टर बादलभित्र छिर्नु वा आँखाले नदेखेको ठाउँमा छिर्नु प्रतिबन्धित अवस्था रहेको उल्लेख गर्दै यसमा जिम्मेवार चालक दल नै देखिएको दलिल पेश गरेका छन् ।
सरकारले हवाई दुर्घटनाको छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ । नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा गठन गरिएको छानबिन समितिको सदस्यहरूमा एरोनोटिकल इन्जिनियरहरू विष्णु बस्नेत र तनुजा पोखरेल रहेका छन् । समितिलाई ३० दिनको कार्यादेश दिइएको छ ।
हिजो दिउँसो काठमाडौंबाट रसुवाको स्याप्रुबेसीतर्फ उडेको एअर डाइनेस्टीको हेलिकप्टर नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचौरमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
