





























काठमाडौं- संघीय राजधानी काठमाडौंमा एकदिने ‘१५औँ इक्यान मल्टि डेस्टिनेसन एजुकेशनल फेयर, २०२४ हुने भएको छ । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)को आयोजनामा यही असोज १३ गते काठमाडौँको एभरेष्ट होटलमा हुन लागेको हो ।



राजधानीमा सोमवार आयोजित पत्रकार सम्मेलनमा इक्यानका अध्यक्ष शेषराज भट्टराईले कोरोना महामारीपछि पहिलो पटक भौतिक रूपमा मेला आयोजना गर्न लागिएको बताए । उनले भने- `नेपाली विद्यार्थीहरूलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली, प्राप्त योग्यताको भावी सम्भावना र असरबारे पर्याप्त सूचना प्रवाह, शैक्षिक संस्थामा प्राप्त हुनसक्ने छात्रवृत्ति, सुविधा तथा जानकारी एवम् परामर्श सेवा प्रदान गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको हो ।’
अध्यक्ष भट्टराईले विद्यार्थीको उच्च शिक्षाको सपना साकार गर्न शैक्षिक मेला महत्वपूर्ण माध्यम हुने बताए । मेलामा विद्यार्थीले विशेष गरी विश्वका विभिन्न शिक्षण संस्था, तिनका शैक्षिक प्रणाली, पाठ्यक्रम, भर्ना प्रक्रियालगायतका विषयमा जानकारी प्राप्त गर्नेछन् । साथै विभिन्न देशका प्रतिनिधिहरूसँग पनि साक्षात्कार गर्न पाइने उनको भनाई छ ।
विद्यार्थी, अभिभावक तथा सरोकार भएकाहरू गरी १५ हजारभन्दा बढीले मेला अवलोकन गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप

