धादिङ- भोटेकोशी नदीमा आएको आकस्मिक बाढीका कारण अवरुद्ध बनेको देशकै लाइफलाइन मानिने पृथ्वी राजमार्ग तीन दिन पछि सूचारु भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङ खण्डको विभिन्न ठाउँमा रहेको लेदो हटाएपछि एकतर्फी सञ्चालनमा ल्याइएको हो ।


राजमार्ग आंशिक रुपमा सञ्चालन भएसँगै होल्ड भएका सवारी साधनहरुलाई पठाइएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश दाहाले बताए । ‘धादिङको गजुरी गाउँपालिका–५ गलौदीमा भर्खरै आंशिक रुपमा लेदो पन्छाएर भ्याइयो । गजुरी आसपास रहेका सवारीहरुलाई गलौदी क्रस गरिएको हो’ उनले भने– ‘धादिङको बैरेनी महेश दोभान, बांगे, जरेखेत, गलौदी क्षेत्रमा टन्नै लेदो जमेको छ । हटाउने कार्य भइरहेको छ । पृथ्वी राजमार्ग पूर्ण रुपमा खुलेको छैन ।’
धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम) ले पनि पृथ्वी राजमार्ग आंशिक रुपमाम मात्रै सञ्चालन भएको बताएकी छन् । ‘अहिले होल्डिङ भएका सवारी साधन, एम्वुलेन्स, दमकल लगायत अत्यावश्यक सवारी साधनलाई मात्र खुल्ला गरिएको हो’ उनले भनिन्, ‘थप समस्या नआए भाडाका तथा हेभी सवारी साधन भोलिसम्म खुलाउन सकिन्छ । अति आवश्यक काम बाहेक राजमार्गको यात्रा नगर्न र सूचना लिएर मात्रै यात्रा गर्नुहुन अनुरोेध छ ।’

