धादिङ– प्रयास नेपाल धादिङले कारितास नेपालको सहयोगमा ५ लाख ४४ हजार रुपैयाँ बराबरको औषधि गल्छी गाउँपालिकालाई सहयोग गरेको छ । रसुवा बाढीका कारण प्रभावित बनेको बैरेनी अस्पतालको स्वास्थ्य सेवा नियमित सञ्चालनमा सहयोग पुर्याउने उद्देश्यले औषधि सहयोग गरिएको हो ।
प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले उक्त औषधि अध्यक्ष खतिवडालाई हस्तान्तरण गरेका हुन् । रसुवा बाढीका कारण बैरेनी अस्पतालको ग्राउन्ड फ्लोर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । बाढीबाट अस्पतालको भौतिक संरचनासँगै औषधि तथा स्वास्थ्य सामग्रीमा समेत क्षति पुगेपछि अस्पतालको नियमित स्वास्थ्य सेवा सञ्चालन प्रभावित बनेको छ ।
औषधि सहयोगले बैरेनी अस्पतालबाट दैनिक रूपमा प्रदान हुँदै आएको स्वास्थ्य सेवा सञ्चालनमा ठूलो सहयोग पुगेको गल्छी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भोजराज रेग्मीले बताए । अस्पतालमा आवश्यक औषधि उपलब्ध भएपछि सेवाग्राही नागरिकलाई नियमित स्वास्थ्य सेवा प्रदान गर्न सहज भएको छ।
स्थानीय नागरिकको स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्न स्वास्थ्य शाखाबाट गरिएको अनुरोधका आधारमा तत्काल आवश्यक औषधि सहयोग गरिएको प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले बताए ।
“विपद्का कारण स्वास्थ्य सेवा प्रभावित भएका अवस्थामा नागरिकलाई आवश्यक स्वास्थ्य सेवा निरन्तर उपलब्ध गराउनु सबैको साझा जिम्मेवारी हो। स्वास्थ्य शाखाको अनुरोधअनुसार तत्काल आवश्यक औषधि सहयोग गरेका हौँ,” उनले भने ।
बाढीले गल्छी गाउँपालिकाको बैरेनी र महेश दोभानमा ठूलो क्षेती पुगेको गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडाले बताए । तथ्यांक संकलन गर्दै तत्कालका लागि राहत तथा व्यवस्थापनमा लागेका छौं । यस्ता सहयोगले विपत्तिमा सहज हुने विश्वास रहेको उनले बताए ।


स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
