धादिङ– जिल्ला सदरमुकाम धादिङबेसीमा मेलमिलापकर्ताहरुलाई मेलमिलाप सम्बन्धी उच्च स्तरीय तालिम सुरु भएको छ । मेलमिलापमा सहजता थप्ने उद्देश्यले मेलमिलाप परिषदले तालिमको आयोजना गरेको हो ।
मेलमिलाप परिषदका अध्यक्ष तथा सर्वोच्च अदालतका न्यायधीश कुमार रेग्मीले तालिमको उद्घाटन समारोहको सम्बोधन गर्दै मेलमिलापले दुवै पक्षहरुलाई फाइदा पुग्ने बताए ।
देवानी प्रकृतिका विवादहरु मेलमिलाप गर्न सकिने उल्लेख गर्दै परिषदका अध्यक्ष रेग्मीले स्थानीय सरकारको न्यायिक समितिले मेलमिलापको माध्यामबाट विवाद र समस्याहरु समाधान गर्नु पर्ने बताए ।
नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुंगानाले मेलमिलाप गर्दा सबैलाई जित जितको अवस्था सिर्जना हुने गरि गर्ने वातावरण बनाउनु पर्ने बताए ।
कार्यक्रममा जिल्ला न्यायधीश गोपाल प्रसाद वास्तोलाले नेपालमा लागु भएको मेलमिलाप प्रणाली फिलिपिन्सको मोडेल भएको उल्लेख गर्दै अदालतभित्रको मेलमिलापका कार्यहरु सन्तोषजनक नरहेको बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे, नीलकण्ठ नगरपालिका उपप्रमुख तथा न्यायिक समिति संयोजक दिपक विश्वकर्मा, जिल्ला अदालतका श्रेस्तेदार माधव भण्डारी लगायतले मेलमिलापको राम्रो पक्षबारे चर्चा गरेका छन् ।
धादिङका २४ जना मेलमिलापकर्ताहरु सहभागी रहेका छन् । सुनिता रेग्मी पोखरेलले प्रशिक्षणको सहजीकरण गरिरहेकी छिन् ।