





























काठमाडौं– चिटिक्क परेका विद्यालय भवन, सफा कक्षाकोठा, डेस्क–बेन्चसहित आवश्यक फर्निचर पनि छन् । विद्यालयमा दुई जना शिक्षक र एक कार्यालय सहयोगी पनि नियमित उपस्थित हुन्छन् । तर, विडम्बना धादिङको गल्छी गाउँपालिका–१ स्थित कालीदेवी आधारभूत विद्यालयमा अध्ययन गर्ने एक जना पनि विद्यार्थी छैनन् ।
हरेक बिहान शिक्षकहरू विद्यालय पुग्छन्, कक्षा कोठा खोल्छन्, सरसफाइ गर्छन् । तर विद्यालय परिसरमा विद्यार्थीको चहलपहल भने सुनसान छ ।
विद्यालयकी प्रधानाध्यापक सिता शाही ठकुरीका अनुसार गत वर्ष विद्यालयमा ८ जना विद्यार्थी भर्ना भएका थिए । तर विद्यालय समायोजन हुने चर्चा चलेपछि यस वर्ष भर्ना भएका ३ जना विद्यार्थी समेत विद्यालय आउन छाडेका छन् ।
“बालविकास शिक्षिका सीता भुजेल, कार्यालय सहयोगी र म दैनिक विद्यालय आउँछौं । तर विद्यार्थी कहिल्यै आउँदैनन्,” उनले भनिन्,- “अब यो विद्यालय पनि छिट्टै समायोजन हुँदैछ ।”
यो अवस्था केवल कालीदेवी आधारभूत विद्यालयको मात्र होइन । पछिल्लो समय धादिङसहित देशभरका सामुदायिक विद्यालयहरूमा विद्यार्थी संख्या घट्दै गएको छ । कतिपय विद्यालयमा विद्यार्थी न्यून छन् भने कतिपय विद्यालय पूर्ण रूपमा विद्यार्थीविहीन बन्न थालेका छन् ।
धादिङमा हाल ५ सय १२ वटा सामुदायिक विद्यालय रहेका छन् । धादिङका धेरै विद्यालयले ४/५ जना मात्र विद्यार्थी राखेर अध्यापन गराइरहेका छ्न् । धेरै विद्यालयले विद्यार्थी टिकाउने र नयाँ विद्यार्थी भर्ना गराउने चुनौती भोगिरहेका छन् ।
शिक्षा विकास तथा समन्वय इकाइ धादिङकी शाखा अधिकृत चण्डिका मल्ल ठकुरीका अनुसार विद्यार्थी संख्या घट्दै गएपछि गत आर्थिक वर्षमा मात्रै ५० भन्दा बढी सामुदायिक विद्यालय समायोजन गरिएको छ ।
‘कतिपय विद्यालय समायोजन गर्न खोज्दा अर्को विद्यालय धेरै टाढा पर्ने समस्या छ,” उनले भनिन्, “विद्यार्थी कम भए पनि भौगोलिक कठिनाइका कारण सबै विद्यालय समायोजन गर्न सकिएको छैन ।’
उनका अनुसार घट्दो जन्मदर, बसाइँसराइ, शहर केन्द्रित बसोबास, निजी विद्यालयप्रतिको आकर्षण तथा कक्षा १२ पछि विदेशिने प्रवृत्तिले सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घटाएको हो ।
यस्तो अवस्थामा ‘बहु कक्षा शिक्षण’ अर्थात् एकै शिक्षकले फरक–फरक तहका विद्यार्थीलाई एउटै कक्षामा पढाउने प्रणाली प्रभावकारी विकल्प हुन सक्ने उनको भनाइ छ । सामुदायिक विद्यालयहरू अहिले अस्तित्व जोगाउने संघर्षमा छन् । भवन छन्, शिक्षक छन्, सरकारी लगानी पनि छ । तर विद्यार्थी अभावले धेरै विद्यालयहरू सुनसान बन्दै गएका छन् । शिक्षा क्षेत्रमा देखिएको यो संकटले अब नीतिगत बहस र दीर्घकालीन समाधानको आवश्यकता औंल्याएको छ ।

