






























धादिङ- धादिङको थाक्रे गाउँपालिकामा प्रथम थाक्रे बाल महोत्सव सुरु भएको छ। बालबालिकाको प्रतिभा प्रस्फुटन, सिर्जनशीलता विकास तथा नेतृत्व क्षमताको अभिवृद्धि गर्ने उद्देश्यले बाल महोत्सव सुरु गरिएको हो ।
कार्यक्रममा विद्यार्थीहरूको प्रतिभा उजागर गर्ने विभिन्न प्रतियोगिता, सांस्कृतिक प्रस्तुति तथा विज्ञान प्रदर्शनी समावेश गरिएको छ। साथै विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थी तथा विद्यालयलाई पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ।
बालबालिकामा सिर्जनशील सोच, नेतृत्व विकास तथा व्यवहारिक शिक्षाको प्रवर्द्धन गर्ने लक्ष्यसहित महोत्सव आयोजना गरिएको थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले बताए। ।
थाक्रे गाउँपालिकाको आयोजनामा सुरु भएको महोत्सवको उद्घाटन कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारी सहभागी हुनुभएको थियो।
त्यस्तै थाक्रे गाउँपालिकाका उपाध्यक्ष यन्त्रबहादुर थापाले बालबालिकाको क्षमता विकास र सिर्जनशील शिक्षाका लागि यो महोत्सवले ठूलो सहयोग मिल्ने बताएका छन्। विद्यार्थीहरूका लागि किताबी ज्ञान मात्र भन्दा पनि व्यवहारिक ज्ञानमा यसले सहयोग पुग्ने उनको भनाइ छ।
त्यस्तै जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारीले बालबालिकाको पठनपाठन, व्यवहारिक शिक्षा, समाजमा घुलमिल जस्ता काममा बाल महोत्सवले भूमिका खेल्ने बताएका छन्। मोबाइल ल्यापटप जस्ता प्रविधिमा व्यस्त रहने बालबालिकाहरूलाई यस्ता महोत्सवले घर बाहिर र व्यवहारिक ज्ञानमा आकर्षण गर्ने उनले बताए ।
महोत्सवमा थाक्रे गाउँपालिकाभित्रका ४२ वटा विद्यालयको सहभागिता रहेको छ। शनिबारदेखि सुरु भएको महोत्सव १७ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

