ज्वालामूखी गाउँपालिका पूर्ण खोप तथा संस्थागत सुत्केरी सुनिश्चित पालिका घोषणा

ज्वालामूखी गाउँपालिका पूर्ण खोप तथा संस्थागत सुत्केरी सुनिश्चित पालिका घोषणा

काठमाडौं– ज्वालामूखी गाउँपालिका पूर्ण खोप सुनिश्चित तथा पूर्ण संस्थागत सुत्केरी (घरमा सुत्केरी शून्य) पालिका घोषणा गरिएको छ । गाउँपालिकामा आयोजित सुनिश्चितता तथा दीगोपना प्रमाणीकरण सभामार्फत गाउँपालिकालाई घोषणा गरिएको हो ।

ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यामनाथ दनैले स्वास्थ्य सेवा प्रवाहमा योगदान पुर्‍याउने महिला स्वास्थ्य स्वयंसेविकाहरूका लागि आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटमा विशेष व्यवस्था गरिने बताए । ‘खोप, संस्थागत सुत्केरी, आमा सुरक्षा कार्यक्रम, पोषण सुधार, स्वास्थ्य सरसफाइ तथा बाल स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई गाउँपालिकाले उच्च प्राथमिकतामा राखेर कार्यान्वयन गर्दै आएको छ’ उनले भने ।

जिल्ला समन्वय समिति धादिङका उपप्रमुख कुलमान विश्वकर्माले कार्यक्रमको सम्बोधन गर्दै धादिङका स्थानीय सरकार स्वास्थ्य क्षेत्रमा अब्बल रहेको बताए। ‘खोप तालिका अनुसार सबै बालबालिकालाई खोप उपलब्ध गराउन र संस्थागत सुत्केरीलाई शतप्रतिशत बनाउन ज्वालामूखी गाउँपालिकाले सफल बनेको छ । यो उपलब्धि जस्ता जनमुखी कार्यक्रमले नागरिकलाई सरकार रहेको अनुभूति भएको छ’ उनले भने ।

कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय धादिङका प्रमुख अर्जुन पौडेल, ज्वालामूखी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरेराम शाह, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारी लगायतले शुभकामना दिँदै ज्वालामुखी गाउँपालिकाले हासिल गरेको उपलब्धिलाई दिगो बनाउन सहकार्य गर्ने बताएका छन्।

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुजन श्रेष्ठले ज्वालामूखी गाउँपालिकामा जन्मेदेखि २३ महिनासम्मका एक सय ९९ बालबालिकाले पूर्ण खोप प्राप्त गरेको बताएका छन्। यस्तै चालु अवधिमा गाउँपालिकाभित्र एक सय ६ जनाले संस्थागत सुत्केरी गराएका छन्, जसमध्ये ४२ जना गर्भवती तथा सुत्केरी महिलालाई गाउँपालिकाबाट प्रेषण (रेफरल) सेवा उपलब्ध गराइएको  उनले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट