धादिङमा विश्व बालश्रम विरुद्धको दिवस मनाइयो

  • २०८३ जेष्ठ ३०, शनिबार (१ घण्टा अघि)
  • १६ पटक पढिएको
धादिङमा विश्व बालश्रम विरुद्धको दिवस मनाइयो

धादिङ– आज विश्व बालश्रम विरुद्धको दिवस । हरेक वर्ष जुन १२ लाई संसारभर बालश्रम विरुद्धको दिवसको रुपमा मनाइने गरिएको छ ।

बालबालिकालाई श्रमिकका रुपमा प्रयोग गरिने कार्यविरुद्ध मनाइने बालश्रम विरुद्धको दिवस धादिङमा पनि मनाइएको छ । नीलकण्ठ नगरपालिका नगरस्तरीय बाल सञ्जालले नीलकण्ठ नगरपालिकाको सहकार्यमा विश्व बालश्रम विरुद्धको दिवस विविध कार्यक्रम गरी मनाएको हो ।

दिवसको अवसरमा जिल्लाको सदरमुकाम धादिङबेसीमा र्‍यालीसहित कार्यक्रमको आयोजना गरी मनाइएको छ । सबै मिलेर समुदायमा हुने बालश्रम अन्त्य गर्नु पर्ने नगरस्तरिय बाल संजालका अध्यक्ष निकेश श्रेष्ठले बताए । ‘अझै पनि बालबालिकाहरुले बालश्रम गर्ने बाध्य रहेका छन्  । कापी कलम च्याप्ने कलिला हातहरुले इट्टाभट्टा तथा होटलहरुमा काम गरिरहेका छन् । अभिभावक सचेत हुने र आम्दानीको बाटो खोजियो भने मात्रै बालश्रम अन्त्य हुनसक्छ’ उनले भने ।

त्यस्तै, विश्व बालश्रम विरुद्धको दिवसमा आयोजित कार्यक्रमको सम्बोधन गर्दै नीलकण्ठ नगरपालिकाका नगर उप-प्रमुख दिपक विश्वकर्माले बालश्रम अन्त्यका लागि नगरपालिकाले प्राथमिकताका साथ काम गर्दै आएको बताए । ‘नगरपालिका क्षेत्र भित्र रहेका इट्टाभट्टा, होटल, उद्योगधन्दा जस्ता ठाउँहरुमा अनुगमन गर्ने गरेका छौं। त्यस्ता बालबालिकाका लागि पढ्ने वातावरण बनाइएको छ’ उनले भने- ‘कुनै पनि बालबालिका शिक्षाको उज्यालो घामबाट बन्चित नहोस् भनेरै नि:शुल्क शिक्षा प्रदान गरिएको हो ।’

बालश्रम विरुद्धआईएलओ महासन्धि १८२ र श्रममा प्रवेश गर्ने न्यूनतम उमेरसम्बन्धी महासन्धि १३८ कार्यान्वयनको सन्दर्भ पारेर सन् २००२ देखि १२ जुनलाई विश्व बालश्रम विरुद्धको दिवसका रुपमा मनाउन थालिएको हो ।  कार्यक्रममा नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कंडेल, शिक्षा शाखा प्रमुख प्रकाश दत्त भट्ट, नेपाल पत्रकार महासंघका धादिङका अध्यक्ष सिताराम अधिकारी लगायतले बालश्रम अन्त्यका लागि प्रतिबद्धताका साथै सहकार्य गर्ने बताए ।

कार्यक्रममा नीलकण्ठ नगरपालिका भित्र रहेका विद्यार्थी, शिक्षक तथा सरोकारवाला निकायहरुको उपस्थिति रहेको थियो ।

 

Advertisement

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट