काठमाडौं– नीलकण्ठ नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का १ अर्व २४ करोड ८८ हजार अनुमानित बजेट सार्वजनिक गरेको छ । नीलकण्ठ नगरपालिकाका उप–प्रमुख दिपक विश्वकर्माले चालु खर्चतर्फ ८७ करोड २७ लाख ५३ हजार र पूँजीगत खर्चतर्फ ३६ करोड ७३ लाख ३५ हजार रुपैयाँको वजेट नगरसभामा पेश गरेका हुन् ।


चालु आर्थिक वर्ष २०८२/८३ को भन्दा आगामी आर्थिक वर्षका लागि प्रस्तावित वजेटमा १ करोड ७ लाख ८३ हजार रुपैयाँ बढी हो । बिहिवार नगरसभाको १९औं अधिवेशनले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको हो । चालू आर्थिक वर्ष २०८३ असार ३ सम्म कुल १ अर्ब २६ करोड २९ लाख ४२ हजार ६६३ रुपैयामा (५५.५७ प्रतिशत (७० करोड १८ लाख ५३ हजार ६१ रुपैयाँ) खर्च भएको छ ।
त्यस्तै, आन्तरिक आय ६ करोड ६० लाख अनुमान गरिएकोमा ५६.२१ प्रतिशत (३ करोड ३७ लाख २६ हजार) आम्दानी भएको छ । राजस्वमा १३ करोड ४ लाख ६४ हजार ४१९ रुपैयाँ अनुमान गरिएकोमा ८६.३२ प्रतिशत (११ करोड २६ लाख २० हजार) आम्दानी भएको छ । बजेटको क्षेत्रगत खर्च विवरण अनुसार आर्थिक विकासतर्फ १८.३४ प्रतिशत, सामाजिक विकासतर्फ ६७.७६ प्रतिशत, पूर्वाधार विकासतर्फ ३२.३९ प्रतिशत, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ ४४.५३ प्रतिशत तथा कार्यालय सञ्चालन र प्रशासनिकतर्फ ३०.४४ प्रतिशत खर्च प्रगति हासिल भएको उल्लेख छ ।
नीलकण्ठ नगरपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, युवा, पूर्वाधार र सुशासनलाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको नगर उपप्रमुख दिपक विश्वकर्माले बताए । शिक्षा क्षेत्रतर्फ कक्षा १२ सम्मको अनिवार्य निःशुल्क शिक्षालाई निरन्तरता दिन ८ करोड २२ लाख रुपैयाँ विनियोजन गरिएको छ । नगर शिक्षा कार्यक्रम, विद्यार्थी लाभका कार्यक्रम तथा गुणस्तरीय शिक्षाको सुनिश्चितताका लागि समेत बजेट छुट्याइएको छ।

कृषि तथा पशुपालन क्षेत्रको विकासलाई विशेष प्राथमिकता दिँदै विउविजतन वितरण, बाली संरक्षण कार्यक्रम, किसानसँग चौतारी, उत्कृष्ट उद्योग तथा बाली प्रवद्र्धन लगायतका कार्यक्रम सञ्चालनका लागि बजेट व्यवस्था गरिएको छ । यस्तै भाषा, कला, संस्कृति तथा ऐतिहासिक सम्पदाको संरक्षण र प्रवद्र्धनका लागि पनि बजेट विनियोजन गरिएको छ। स्वास्थ्य क्षेत्रतर्फ नगर स्वास्थ्य परीक्षण कार्यक्रम, स्वास्थ्य संस्थाको स्तरोन्नति, भवन तथा उपकरण मर्मत–सम्भार लगायतका कार्यक्रम सञ्चालनका लागि बजेट व्यवस्था गरिएको छ।
युवा तथा खेलकुद क्षेत्रका लागि ५४ लाख ५० हजार रुपैयाँ, युवाको सीप, उद्यमशीलता र नेतृत्व विकास लगायतका कार्यक्रमका लागि ९ लाख ५५ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । रोजगारी सिर्जना र प्रवद्र्धनका लागि २५ लाख रुपैयाँ, वैदेशिक रोजगारीसम्बन्धी परामर्श तथा पुनःएकीकरण कार्यक्रम सञ्चालनका लागि १७ लाख, खानेपानी तथा सरसफाइतर्फ लिफ्ट खानेपानी योजनाको विद्युत महसुलमा ५० प्रतिशत अनुदान, विपन्न नागरिकको मृत्यु संस्कार सहयोग तथा अन्य सामाजिक सुरक्षा कार्यक्रमलाई निरन्तरता दिइएको छ । खानेपानी, सरसफाइ तथा फोहोरमैला व्यवस्थापनलाई व्यवस्थित गर्न ४० लाख तथा फोहोरमैला व्यवस्थापनका लागि थप ३० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
पूर्वाधार विकासअन्तर्गत सबै वडा कार्यालयसम्म कालोपत्रे सडक पु¥याउने लक्ष्यसहित विभिन्न सडक योजनाका लागि १३ करोड २३ लाख, नगरका १४ वटै वडामा सडक स्तरोन्नति तथा कालोपत्रे पर्यटन विकास बोर्डको साझेदारीमा पर्यटन पूर्वाधार विकास लगायतका कार्यक्रमलाई वजेट विनियोजन गरिएको छ ।
नगर सौन्दर्यीकरण तथा करिडोर निर्माणका लागि ४० लाख, विपद् व्यवस्थापन कोषमा ५० लाख, सूचना तथा प्रविधि क्षेत्रतर्फ नेटवर्क विस्तार, सिसी क्यामेरा जडान तथा मर्मत–सम्भारका लागि ७० लाख, न्यायिक समितिमार्फत मेलमिलाप, कानुनी सहायता र न्यायिक पहुँच अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्न १३ लाख, वडा कार्यालयमार्फत प्राप्त हुने राजस्वको १० प्रतिशत रकम वडा सिफारिसका आधारमा क्षमता विकास तथा जनमुखी कार्यक्रम सञ्चालनमा खर्च गर्ने व्यवस्था गरिएको छ ।
नीति तथा कार्यक्रममा सुशासन, सेवा प्रवाह, कृषि, शिक्षा, स्वास्थ्य, रोजगार, युवा, खेलकुद, पूर्वाधार, पर्यटन तथा वातावरण संरक्षणलाई प्राथमिकतामा राखिएको नगरप्रमुख भीमप्रसाद ढुङ्गाना बताए ।
नीति तथा कार्यक्रममा सेवा प्रवाहलाई थप सरल, सहज, छिटो र पारदर्शी बनाउने, संस्थागत सुधारलाई चरणबद्ध रूपमा कार्यान्वयन गर्ने, आवधिक योजना तथा मध्यकालीन खर्च संरचनालाई प्रभावकारी रूपमा लागू गर्ने उनले बताए । नगरभित्रका घरपरिवार तथा संस्थागत तथ्यांक अद्यावधिक गरी डिजिटल डाटा प्रणाली स्थापना गर्ने तथा रोजगार सिर्जनाका लागि क्षेत्रगत अध्ययन गरी आवश्यक नीति निर्माण गर्ने लक्ष्य लिइएको छ ।
कृषि तथा पशुपालन क्षेत्रलाई आधुनिकीकरण गर्दै ‘एक वडा–एक उत्पादन’ कार्यक्रमलाई परिष्कृत गरी ‘एक वडा–एक पहिचान’ का रूपमा विकास गर्ने, कृषि तथा पशु सेवा कार्यक्रमलाई थप प्रभावकारी बनाउने तथा स्थानीय उत्पादनको ब्रान्डिङ गर्ने नीति लिइएको छ । शिक्षा क्षेत्रमा प्राविधिक तथा सीपमूलक शिक्षालाई प्राथमिकता दिदै, स्वास्थ्य तथा पोषण, सामाजिक सुरक्षा, जनस्वास्थ्य सेवा र स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने उल्लेख छ । युवा तथा खेलकुद क्षेत्रको विकासका लागि नगर युवा तथा खेलकुद विकास समिति गठन गर्ने, खेलमैत्री नगर अभियान सञ्चालन गर्ने, खेल पूर्वाधार विस्तार गर्ने तथा खेलाडीलाई प्रोत्साहन गर्ने कार्यक्रम समावेश गरिएको छ ।
नगर गौरवका आयोजना, करिडोर निर्माण, चक्रपथ तथा नीलकण्ठ सिटी पार्क जस्ता योजनालाई उच्च प्राथमिकताका साथ सम्पन्न गर्ने नीति नगरपालिकाले लिएको उनले बताए । पर्यटन प्रवद्र्धनका लागि होमस्टे कार्यक्रम विस्तार, पर्यटकीय गन्तव्यको विकास तथा आवश्यक पूर्वाधार निर्माणमा जोड दिइएको छ। व्यवस्थित सहरीकरण तथा नमुना बस्ती विकासका लागि कम्तीमा ५० रोपनी क्षेत्रफलमा स्मार्ट बस्ती विकासको अवधारणा अघि सारिएको छ। यसका लागि ल्याण्ड पुलिङसहित विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी आवश्यक बजेट व्यवस्थापन गरिने उल्लेख छ।
वातावरण संरक्षण, दिगो विकास लक्ष्यको स्थानीयकरण, फोहोरमैला व्यवस्थापन तथा स्वच्छ नगर अभियानलाई निरन्तरता दिइने भएको छ। साथै खानेपानी तथा सरसफाइ क्षेत्रमा आवश्यक अध्ययन गरी सुरक्षित र गुणस्तरीय खानेपानीको पहुँच विस्तार गर्ने तथा एक घर–एक धारा अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाउने बताइएको छ ।

