
काठमाडौं– धादिङको धुनिवेशी नगरपालिकाले आर्थिक वर्ष २०८३०/८४ का लागि १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ । नगरसभामा नगर उपप्रमुख सुरज उप्रेतीले आगामी आर्थिक वर्षका लागि अनुमानित बजेट सार्वजनिक गरेका हुन् । कुल बजेटको ५२ करोड ९४ लाख २० हजार ८ सय रुपैयाँ (५०.९२ प्रतिशत) र पुँजीगत तर्फ ५१ करोड १ लाख ५० हजार रुपैयाँ (४९.०८ प्रतिशत) विनियोजन गरेको हो ।
नगरपालिकाले संघीय सरकारबाट प्राप्त हुने समानीकरण, सशर्त, समपुरक तथा विशेष अनुदान, बागमती प्रदेश सरकारबाट प्राप्त विभिन्न अनुदान, राजस्व बाँडफाँड, आन्तरिक राजस्व तथा बैंक मौज्दातलाई आयको प्रमुख स्रोतका रूपमा अनुमान गरेको छ ।
क्षेत्रगत रूपमा बजेट विनियोजन गर्दा आर्थिक विकास क्षेत्रमा ६ करोड १० लाख १० हजार रुपैयाँ, सामाजिक विकास क्षेत्रमा ३२ करोड ८७ लाख ८ सय रुपैयाँ, पूर्वाधार विकास क्षेत्रमा ३० करोड ८८ लाख रुपैयाँ तथा कार्यालय सञ्चालन एवं प्रशासनिक खर्चतर्फ ३४ करोड १० लाख ६० हजार रुपैयाँ विनियोजन गरिएको छ ।
नगरपालिकाले प्रस्तुत बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, रोजगार, पूर्वाधार विकास तथा सामाजिक सुरक्षालाई प्राथमिकता दिएको जनाएको छ । साथै, वन्चरेडाँडा ल्याण्डफिल साइटबाट प्रभावित क्षेत्रहरूको पूर्वाधार विकासका लागि काठमाडौं महानगरपालिकाबाट प्राप्त ३ करोड रुपैयाँबाट सञ्चालन हुने योजनासमेत प्रस्ताव गरिएको छ ।
नगरसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम नगरप्रमुख बालकृष्ण आचार्यले प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रम सहित नगरसभामा प्रस्तुत विनियोजन विधेयक-२०८३ र आर्थिक विधेयक-२०८३ समेत पारित गरिएको छ ।

