धादिङ– जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले २१ स्थानलाई उच्च जोखिम क्षेत्र र १८ स्थानलाई होल्डिङ सेन्टरका रूपमा पहिचान गरेको छ । जोखिम क्षेत्रको पहिचान गरी देशकै लाइफलाइन मानिने पृथ्वीराजमार्ग र त्रिभुवन राजपथ भएर गरिने यात्रालाई सुरक्षित बनाउन छलफल तथा योजना बनाइएको हो।
मनसुनजन्य विपद् व्यवस्थापनलाई केन्द्रमा राख्दै पूर्वतयारी, उद्धार, राहत तथा समन्वयका विषयमा छलफल गरी योजना बनाएइको प्रमुख जिल्ला अधिकारी लक्ष्मी गौतम पाण्डेयले बताइन्। ‘सम्भावित विपत्तिबाट जोखिम र क्षति कम गर्न राहत तथा उद्धारका लागि आवश्यक सामग्री तयारी अवस्थामा छ’ उनले भनिन् ।
मनसुनको समय भएकाले सबै स्थानीय तह, सरकारी कार्यालय, आयोजना तथा सेवा प्रदायक निकायलाई आवश्यक जनशक्ति, उपकरण तथा स्रोतसाधन तयारी अवस्थामा राख्न निर्देशन दिइएको उनले बताइन् । ‘विपद्का बेला विद्युत्, खानेपानी, सञ्चार, स्वास्थ्य, यातायातलगायत अत्यावश्यक सेवा निरन्तर सञ्चालनमा राख्ने व्यवस्था मिलाइनेछ। स्थानीय व्यवसायीलाई खाद्यान्न, इन्धन र दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन आवश्यक व्यवस्था गर्न आग्रह गरिएको छ’ उनले भनिन्- ‘
विपद्जन्य घटनाको जानकारी लिन तथा दिन नेपाल सरकारले सञ्चालनमा ल्याएको टोल–फ्री नम्बर ११४९ र नेपाल प्रहरीको हटलाइन १०० मा सूचना दिनुहुन अनुरोध छ।’
मनसुनजन्य विपद् व्यवस्थापनलाई केन्द्रमा राख्दै पूर्वतयारी, उद्धार, राहत तथा समन्वयका विषयमा छलफल गरी योजना बनाइएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्ररहरी उपरीक्षक सुमित खड्काले बताए । ‘गजुरी गाउँपालिकाअन्तर्गत चालिसे, परेवा भिर, पोखरे खोला, बिहानी पम्प, हिलटप, थाक्रेकाे सातकिला र महादेवबेँसी, गल्छी गाउँपालिकाअन्तर्गत चिरौँदी पुल, महेशदोभान, सिमबजार र खेस्टेखोला, धुनिबेशी अन्तर्गत खानीखोला तिरतिरे धारा, ठूलो खोला र बाहुनेडाँडा, तथा बेनीघाट रोराङ गाउँपालिकाअन्तर्गत तिक्राङ खानी, सलाङघाट र कृष्णभिर लगायतका स्थानलाई पहिरो तथा सडक अवरोधको उच्च जोखिम क्षेत्रका रूपमा सूचीकृत गरिएको छ’ उनले भने ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
