त्रिशूली किनारका मजदुरको सामग्री फिर्ता

  • २०८३ श्रावण ७, बिहिबार (१ घण्टा अघि)
  • १२ पटक पढिएको
त्रिशूली किनारका मजदुरको सामग्री फिर्ता

धादिङ– धादिङको गजुरी गाउँपालिका-६ वन्छेटारस्थित त्रिशूली नदी किनारमा  बालुवा झिकिरहेका मजदुरहरूको नियन्त्रणमा लिएका सामग्रीहरू सम्बन्धित व्यक्तिलाई फिर्ता गरिएको छ । नदीको बहाव बढेपछि मानवीय सुरक्षा तथा सम्भावित जोखिमलाई मध्यनजर गर्दै इलाका प्रहरी कार्यालय गजुरीले मजदुरहरूको थुन्से, साबेल तथा बालुवा निकाल्न प्रयोग हुने फलामका डिब्बालगायतका नियन्त्रणमा लिएको सामग्री फिर्ता गरेको हो ।

उजुरी परेपछि इलाका प्रहरी कार्यालय गजुरीले नदी किनारमा काम गरिरहेका मजदुरलाई हटाउँदै उनीहरूले प्रयोग गर्दै आएका सामग्री नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए । त्रिशूली नदीको बहाव बढेपछि मजदुरहरूको ज्यान जोखिममा पर्ने अवस्था देखिएकाले मानवीय सुरक्षालाई प्राथमिकतामा राख्दै सामग्री अस्थायी रूपमा नियन्त्रणमा लिइएको थियो। नदीको बहाव घटेर अवस्था सामान्य बनेपछि नियन्त्रणमा राखिएको सबै सामग्री सम्बन्धित व्यक्तिलाई फिर्ता गरिएको उनले बताए।

नदीजन्य पदार्थ उत्खननमा मेसिन प्रयोग गर्न नपाइने कानुनी व्यवस्था छ। तर परम्परागत रूपमा थुन्से, साबेल तथा फलामका डिब्बा प्रयोग गरी बालुवा निकाल्ने अभ्यास वर्षौंदेखि चल्दै आएको छ। यही कामबाट दर्जनौँ परिवारले दैनिक जीविकोपार्जन गर्दै आएका छन् ।

प्रहरीले बालुवा निकाल्न प्रयोग गरिने मजदुरका सामग्रीहरू नियन्त्रणमा लिएपछि चौतर्फी विरोध भएको थियो । मजदुरहरूको रोजीरोटी गुमेको भन्दै विरोध जनाएका थिए । सुरक्षा निकायले भने विगतका वर्षहरूमा बालुवा झिक्ने क्रममा मजदुरको ज्यान गएको भन्दै मानवीय सुरक्षा र सम्भावित जोखिमलाई मध्यनजर गर्दै मजदुरका सामग्रीहरू नियन्त्रणमा लिएको बताउँदै आएका छन्।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट