काठमाडौं– धादिङमा गत आर्थिक वर्ष २०८२/०८३ मा झण्डै एक लाख नागरिकले राष्ट्रिय परिचयपत्र लिएका छन् । धादिङका स्थानीय सरकारका वडा कार्यालय र जिल्ला प्रशासन कार्यालय मार्फत वितरण गरिएको राष्ट्रिय परिचयपत्र ९३ हजार ७ सय ४४ जनाले लिएका हुन् ।


जिल्लामा परिचयपत्र वितरणले तीव्र गति लिएको जिल्ला प्रशासन कार्यालय धादिङका विवरण दर्ता अपरेटर जानुका दुवाडीले बताइन् । ‘धुनिबेसी नगरपालिका र बेनीघाट रोराङ गाउँपालिकाबाहेक जिल्लाका ११ स्थानीय सरकारका वडा कार्यालयमार्फत ८४ हजार १४ जनालाई राष्ट्रिय परिचयपत्र वितरण गरिएको हो । जिल्ला प्रशासन कार्यालय धादिङबाट थप ९ हजार ७ सय ३० जनालाई परिचयपत्र वितरण गरिएको छ । यससँगै गत आर्थिक वर्ष २०८२/०८३ मा मात्रै वितरण भएका राष्ट्रिय परिचयपत्रको संख्या ९३ हजार ७ सय ४४ पुगेको हो’ उनले भनिन् ।
धादिङमा २०७७ साल साउनदेखि राष्ट्रिय परिचयपत्रका लागि नागरिकको विवरण संकलन सुरु गरिएको थियो । गत आर्थिक वर्षमा २२ हजार ७ सय ३५ जनाले राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गर्दै फोटो खिचाएका छन् । १ लाख ६ हजार ६ सय ६१ जनाको राष्ट्रिय परिचयपत्र प्रिन्ट भएर जिल्लामा आइपुगेको उनले बताइन् ।
२०७९ साउन १ गतेदेखि २०८३ असार ३२ गतेसम्म १ लाख १३ हजार ५ सय ७२ जनाको विवरण संकलन गरिएको छ । २०८० साउनमा ४९ हजार ३ सय ६ जनाको कार्ड प्राप्त भएकोमा २४ हजार ९ सय ३२ जनाको कार्ड वितरण गरिएको थियो ।
‘२०८० साउनयता करिब तीन वर्षदेखि राष्ट्रिय परिचयपत्र प्रिन्ट भएर आएको छैन । जेनजी आन्दोलन र परिचयपत्र छाप्ने दुईवटा मेसिनमध्ये एउटा बिग्रिएपछि प्रिन्टिङ कार्य प्रभावित बनेको जानकारी आएको छ’ उनले भनिन् ।
वृद्धवृद्धा, अशक्त तथा असहाय नागरिकलाई घरमै पुगेर पनि राष्ट्रिय परिचयपत्र वितरण गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय(गौतम)ले बताइन् । ‘जिल्ला प्रशासन कार्यालय आएर सेवा लिन नसक्नेहरुका लागि घर घरमा सेवा प्रवाह गरिएको थियो । वृद्धवृद्धा, अशक्त तथा असहाय नागरिकहरुका लागि घरमै पुगेर सेवा दिएका छौं’ उनले भनिन्– ‘सरकारले राष्ट्रिय परिचयपत्र घरघरमै पु¥याउने योजना अघि सारे पनि कार्यान्वयनमा भने चुनौती देखिएको छ । हालसम्म वृद्धवृद्धा, अशक्त तथा असहाय नागरिकलाई घरमै पुगेर परिचयपत्र उपलब्ध गराइएको छ । तर बायोमेट्रिक लगायतका कारण सबै नागरिकको घरमा परिचयपत्र वितरण गर्ने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन ।’
राष्ट्रिय परिचयपत्रलाई सार्वजनिक सेवा प्राप्त गर्ने आधारभूत दस्तावेजका रूपमा क्रमशः अनिवार्य बनाइँदै गएपछि राष्ट्रिय परिचयपत्र लिन नागरिकको आकर्षण बढ्दै गएको उनले बताइन् । ‘शुरुवातका समयमा जस्तो सेवाग्राहीलाई सास्ती छैन । अहिले सहज विवरण संकलन तथा फोटो खिच्ने काम भइरहेकोले पनि राष्ट्रिय परिचयपत्र बनाउने र लिनेहरुको संख्यामा वृद्धि भएको हो’ उनले भनिन् ।

