काठमाडौं– पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा भासिएपछि वैकल्पिक मार्गहरुको प्रयोग गर्न थालिएको छ । काठमाडौं–मुग्लिन सडक खण्ड अवरुद्ध बनेपछि वैकल्पिक मार्गहरुमा लामो जाम पर्न थालेका छन् ।


६५ भन्दा बढी जिल्लालाई संघीय राजधानी काठमाडांैसँग जोड्ने पृथ्वी राजमार्गको विकल्पमा मकवानपुरका वैकल्पिक मार्गमा केन्द्रित भएका छन् । जसका कारण त्रिभुवन राजपथ, भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली तथा फाखेल मार्गमा अत्यधिक चाप बढेको छ ।
सवारीसाधनको अस्वाभाविक चापका कारण सामान्य अवस्थामा करिब तीन घण्टामा पूरा हुने यात्रा अहिले पाँच घण्टाभन्दा बढी समय लाग्न थालेको छ । हाल १४ सिटसम्मका साना यात्रुवाहक सवारीसाधन हेटौँडाबाट भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली हुँदै काठमाडौं आवतजावत गरिरहेका छन् । त्यस्तै, काठमाडौंबाट हेटौँडातर्फ आउनेजाने साना सवारीलाई फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदी मार्ग प्रयोग गर्न लगाइएको छ । ठुला यात्रुवाहक बस र मालवाहक सवारीसाधनलाई भने त्रिभुवन राजपथ तथा कान्ति लोकपथतर्फ डाइभर्ट गरिएको छ ।
कृष्णभीरमा डाइभर्सनको काम शुक्रबारदेखि सुरु गरिएको छ । सकभर चाँडै राजमार्ग सूचारु गर्ने प्रयास गरिएपनि अझै एक साता भन्दा बढी लाग्ने प्राविधिकहरुले बताएका छन् ।

