|Photo: Nepal police
काठमाडौं– नुवाकोटको विदुर नगरपालिका–१० की ६४ वर्षीया चण्डिका श्रेष्ठको ११औं दिनमा जिवितै उद्धार गरियो । बाढी आएको आठौं दिनसम्म खोजी गर्दा पत्ता नलागेपछि परिवारले कुशको शव बनाएर काजकिरिया सुरु गरेका थिए । तर नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त उद्धार टोलीले चण्डिकालाई ११औं दिनमा जीवितै उद्धार गरेको हो ।


परिवारले बाढी आएको आठ दिनदेखि चण्डिका र उनका श्रीमानलाई सबैले खोजी गरे, तर उनीहरुको कुनै अत्तोपत्तो भएन । घरैसहित त्रिशूलीको भेलमा बगेपछि उनीहरू जीवित रहेको परिवारको आशा दिनदिनै कमजोर बन्यो । आफन्तले सम्भावित ठाउँमा खोजे, उद्धार टोलीले पनि खोजी जारी राख्यो । तर आठ दिनसम्म चण्डिकाको कुनै खबर आएन।
चण्डिका र उनका श्रीमान् घरभित्रै रहेका बेला त्रिशूलीमा आएको बाढीले उनीहरू बस्दै आएको साढे चार तल्लाको घरलाई नै जुरुक्क उचालेर बगाएको थियो। केही क्षणमै घर त्रिशूलीको भेलमा हरायो। बाढीले बगाएको घर नदीको किनारमा पुगेर अड्किएको थियो। तर त्यही घरभित्र वा आसपास चण्डिका जीवितै रहेको कुरा कसैले अनुमान गर्न सकेन ।
अन्ततः उनको परिवारले कुशको शव बनाएर चण्डिकाको काजकिरिया सुरु गर्यो । घरमा शोक थियो । आफन्तहरू अन्तिम संस्कारका कर्ममा जुटिसकेका थिए । तर परिवारले मृत्यु संस्कार गरिरहेकै बेला चण्डिकाको जीवनले सबै अनुमान उल्ट्याइदियो। अझ भनौं उनको नयाँ जीवनले चमत्कार नै गरिदियो ।
बाढी आएको ११औँ दिनमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त उद्धार टोलीले चण्डिकालाई जीवितै फेला पारेको हो । बेत्रावती बजारस्थित आनन्द श्रेष्ठको घरबाट उनलाई अर्धचेत अवस्थामा उद्धार गरिएको हो।
उद्धारकर्ताले जीवितै फेला पारेपछि अहिले उनको काठमाडौंको छाउनीस्थित सैनिक अस्पतालमा उपचार भइ रहेको छ । अहिले चण्डिकाको जिवितै उद्धारले बाढीमा परि वेपत्ता रहेकाहरुको पनि जिवितै उद्धार हुने आशा जगाएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
