काठमाडौं — भोटेकोशी विनाशकारी बाढीबाट प्रभावितका लागि नेपाल गजल प्रतिष्ठानले १ लाख १३ हजार ३ सय ६९ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।


नागरिकको उद्धार, खोजी तथा राहत र प्रभावितहरुको दैनिकी थप सहज होस भन्ने उद्देश्यका साथ प्रतिष्ठानले १ लाख १३ हजार ३ सय ६९ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको प्रतिष्ठानका अध्यक्ष लालकाजी श्रेष्ठले बताए ।
‘विपत्तिको समयमा पीडितहरूसँग उभिनु सबैको साझा मानवीय दायित्व हो । यो विपत्तिको घडीमा सबैले सक्ने सहयोग गर्न सके दुःखको भूमरीमा रुमल्लिएकाहरुलाई थोरै भएपनि सहज हुनेछ’ उनले भने– ‘दुःखमा सहारा, विपत्तिमा सहयोग र पीडामा मल्हम लगाउन सामूहिक प्रयास आवश्यक छ । साहित्यको माध्यमबाट सामाजिक रुपान्तरणको यात्रामा रहेका हामीहरुले बाढीको पीडामा रहेकाहरुलाई थोरै सहयोग गर्ने कोसिस गर्याै । यसमा हामी सबैको हातेमालो आवश्यक छ ।’
नेपाल गजल प्रतिष्ठान नेपाली साहित्यमा गजल विधाको उन्नयनका लागि निरन्तर सक्रिय संस्था हो । प्रतिष्ठानले बाढीबाट भएको अकल्पनीय मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै दिवंगतप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । साथै बाढीमा परी बेपत्ता भएकाहरू सकुशल भेटिन सकून् भन्दै प्रतिष्ठानले उद्धार तथा खोजी कार्यमा जुटेकाहरूप्रति सम्मान व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
