कृष्णभीरमा जोखिम मोलेरै पहिरो छिचोल्दै विद्यार्थी र स्थानीय

कृष्णभीरमा जोखिम मोलेरै पहिरो छिचोल्दै विद्यार्थी र स्थानीय

धादिङ — पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा सडक भासिएपछि विद्यार्थी, शिक्षक, कर्मचारी र स्थानीय बासिन्दाको दैनिक आवतजावत जोखिमपूर्ण बनेको छ। राजमार्ग अवरुद्ध भएको १२ दिन बितिसक्दा पनि सवारीसाधन चल्न सकेका छैनन्। पैदलयात्रीका लागि समेत सहज बाटो छैन।

Advertisement

त्रिशूली नदीको बाढीले सडक कटान गरी भासिएपछि गत भदौ १४ गतेदेखि कृष्णभीरमा राजमार्ग अवरुद्ध छ। सडक अवरुद्ध हुँदा बेनीघाट रोराङ गाउँपालिकाका वडा नम्बर ८, ९ र १० का नागरिक प्रत्यक्ष प्रभावित भएका छन्। दैनिक उपभोग्य वस्तुको आपूर्ति, विद्यालय–क्याम्पस आवतजावत र स्थानीयको नियमित कामकाज प्रभावित भएको छ।

राजमार्ग सञ्चालनमा आउन समय लाग्ने भएपछि निर्माणाधीन डाइभर्सनबाटै अत्यावश्यक कामका लागि स्थानीयले आवतजावत गरिरहेका छन्। तर डाइभर्सन निर्माण भइरहेको क्षेत्रमा समेत पहिरोको जोखिम कायमै छ। कृष्णभीरको माथिल्लो भागबाट माटोसँगै साना ढुंगा खस्ने क्रम रोकिएको छैन।
बेनीघाट रोराङ गाउँपालिकाका सूचना अधिकारी तथा शाखा अधिकृत परशुराम घिमिरेका अनुसार कृष्णभीरमा सडक भासिएपछि गाउँको भूगोल नै दुई भागमा बाँडिएजस्तो भएको छ।

‘कृष्णभीर भासिएपछि हाम्रो भूगोल नै दुई भागमा बाँडिएको जस्तो भएको छ,’ उनले भने, ‘वडा नम्बर ८, ९ र १० का नागरिक तथा बालबालिकाको पठनपाठनमा ठूलो असर परेको छ। वैकल्पिक बाटो त छ, तर सहज छैन। दूरी लामो छ। त्यसैमाथि कृष्णभीरको माथिल्लो भागबाट माटोसँगै साना ढुंगा खस्ने क्रम रोकिएको छैन।’

घिमिरेका अनुसार वैकल्पिक बाटो निकै लामो छ। विद्यार्थीका लागि विद्यालय पुग्न मात्रै कठिन भएको छैन, समयमै कक्षा लिन पाउने र सुरक्षित रूपमा घर फर्किने विषयसमेत चुनौती बनेको छ।

विशालटारस्थित श्री चन्द्रोदय माध्यमिक विद्यालयमा कृष्णभीरको अवरोधको प्रत्यक्ष असर परेको छ। विद्यालयका सहायक प्रधानाध्यापक केशवप्रसाद कडेलका अनुसार बाढी र पहिरोपछि करिब ६ दिनसम्म उनीहरूको विद्यालय आवतजावत र पठनपाठन प्रभावित भएको थियो।

‘कृष्णभीर हुँदै आउने विद्यार्थी करिब १ सय २७ जना छन्। सडक अवरुद्ध भएपछि करिब ६ दिनसम्म पठनपाठनमा समेत असर पर्यो,’ कडेलले भने, ‘अहिले विद्यालयले स्कर्टिङ गरेर विद्यार्थीलाई कृष्णभीर वारपार गराउने व्यवस्था गरेको छ।’

कृष्णभीर हुँदै विद्यालय आउने विद्यार्थी धादिङका मात्रै छैनन्। छिमेकी जिल्ला गोरखाको गण्डकी गाउँपालिकाबाट पनि विद्यार्थी दैनिक चन्द्रोदय माध्यमिक विद्यालय आउने गरेका छन्। विद्यालयका अनुसार गोरखाबाट आउने करिब ५० विद्यार्थी पनि सडक अवरुद्ध भएपछि प्रभावित भएका छन्।
विद्यालय तहका विद्यार्थी मात्र होइन, उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीसमेत सडक अवरोधको मारमा परेका छन्। बीबीएस र बीएड अध्ययनका लागि आउने करिब २५–२६ जना विद्यार्थी नियमित रूपमा क्याम्पस आउन नसकेको विद्यालयले जनाएको छ।

‘किताब बोकेर विद्यालय जाने बाटो त छ, तर सुरक्षित बाटो छैन,’ स्थानीयको गुनासो छ, ‘माथिबाट ढुंगा खस्ने जोखिम छ। तल सडक भासिएको छ। सवारीसाधन चल्दैनन्। यस्तो अवस्थामा पनि विद्यार्थी पढ्न जान बाध्य छन्।’

विद्यार्थी जोखिमपूर्ण बाटो हुँदै विद्यालय पुगिरहँदा अभिभावकमा भने छोराछोरी सुरक्षित रूपमा घर फर्किने हुन् कि होइनन् भन्ने चिन्ता थपिएको छ। लामो समयसम्म सडक सञ्चालनमा आउन नसके विद्यार्थीको नियमित पठनपाठनमा थप असर पर्ने स्थानीयको चिन्ता छ।

असोजबाट राजमार्ग सञ्चालनको लक्ष्यराजमार्ग खुलाउन कृष्णभीरमा अहिले नयाँ ट्र्याक निर्माणको काम भइरहेको छ। भासिएको सडकको भागभन्दा कुनापट्टिबाट भित्ता काटेर नयाँ ट्र्याक खोल्ने र त्यसलाई चौडा बनाउने काम भइरहेको हो। सडक निर्माणमा दैनिक ९ देखि ११ वटा सानाठूला डोजर परिचालन गरिएको छ।

करिब ३०० मिटर लामो नयाँ ट्र्याक निर्माण गर्नुपर्नेछ। त्यसका लागि करिब ४० मिटर उचाइको पहाड काटेर सडकको सतह तल झार्नुपर्ने अवस्था छ।
नागढुङ्गा–मुग्लिन सडक आयोजनाका कन्सल्टेन्ट फिल्ड इन्जिनियर अशोक देवकोटाका अनुसार अहिलेको गतिमा निरन्तर काम गर्न सके असोजबाट पृथ्वी राजमार्ग सञ्चालनमा ल्याउने लक्ष्य छ।

तर नयाँ ट्र्याक बनाएर सडक खोल्दैमा यातायात पूर्ण रूपमा सुरक्षित हुने अवस्था भने छैन। जटिल भूगोलका कारण माथिबाट माटो र ढुंगा खस्ने जोखिम कायमै रहेको देवकोटा बताउँछन्।

‘अहिलेको गतिमा निरन्तर काम गर्न सकियो भने असोजबाट राजमार्ग सञ्चालन गर्न सकिने अनुमान छ,’ देवकोटाले भने, ‘तर सडक खोल्नु मात्रै पर्याप्त हुँदैन। पहिरोको जोखिमका बीच सवारीसाधन सुरक्षित रूपमा सञ्चालन गर्न सकिन्छ कि सकिँदैन भन्ने विषय पनि महत्वपूर्ण छ।’

कृष्णभीरको पहिरोले पृथ्वी राजमार्गमा यातायात मात्रै रोकेको छैन, यसले गाउँको नियमित आवतजावतदेखि विद्यार्थीको पढाइ, व्यापार–व्यवसाय र सर्वसाधारणको दैनिकीसम्म प्रभावित बनाएको छ। काठमाडौं भित्रिने र बाहिरिने सवारीसाधन प्रभावित भइरहेका छन् भने दैनिक उपभोग्य वस्तुको आपूर्तिमा समेत असर परेको छ।

सडक निर्माणाधीन अवस्थामा विद्यार्थी र स्थानीय भने जोखिम मोलेरै पैदल बाटो छिचोलिरहेका छन्। राजमार्ग कहिले खुल्छ भन्ने प्रतीक्षामा रहेका उनीहरूका लागि अहिले सबैभन्दा ठूलो प्रश्न भनेकै सुरक्षित आवतजावत कहिले सहज हुन्छ भन्ने बनेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट