धादिङ- धादिङको बेनीघाट रोराङ गाउँपालिका–२ का सोमबहादुर चेपाङकी तीन वर्षीया छोरी आर्या चेपाङ लामो समयदेखि अस्पतालमा उपचाररत छिन्। गम्भीर स्वास्थ्य समस्या देखिएपछि गत साउन २८ गतेदेखि उनी काठमाडौंको मनमोहन मेमोरियल सामुदायिक अस्पतालको एचडिसियू (हाई डिपेन्डेन्सी केयर युनिट) मा उपचाररत छिन्।
चिकित्सकका अनुसार आर्यामा hypoxic ischemic encephalopathy secondary to refractory status epilepticus with hypoglycemia र cortical visual impairment लगायतका समस्या देखिएका छन्। साथै ई.कोली संक्रमणसमेत देखिएपछि उनको स्वास्थ्य अवस्था थप जटिल बनेको बुबा सोमबहादुरले बताए।
आँखा नदेख्ने समस्या भएपछि उनको आँखाको उपचारसमेत भइरहेको छ। मुखबाट खाना खान नसक्ने भएपछि नाकबाट पाइप राखेर (NG feeding) खाना खुवाइँदै आएको छ। हालसम्म पनि छोरी एचडिसियूमै उपचाररत रहेको सोमबहादुरले बताए।
छोरीको उपचारका क्रममा परिवारले अहिलेसम्म करिब डेढ लाख रुपैयाँ खर्च गरिसकेको छ। उपचार खर्च जुटाउन घरमा पालिरहेको भैँसीलगायत पशुचौपायासमेत बेचिसकेको सोमबहादुरले बताए। आफन्त र साथीभाइसँग समेत सहयोग मागेर उपचार गराउँदै आएको उनको भनाइ छ।
अस्पतालमा औषधिको मात्रै करिब ५० हजार रुपैयाँ तिर्न बाँकी छ। अन्य उपचार तथा अस्पताल खर्चको हिसाबसमेत बाँकी छ। बाँकी रकम नतिरेसम्म अस्पतालले छोरीलाई डिस्चार्ज गर्न नमिल्ने बताएको सोमबहादुरले बताए।
‘छोरीलाई यस्तो भएपछि ऋण खोजेर भए पनि उपचार गराइरहेका छौँ। अब पैसा सकियो,’ उनले भने, ‘बिल नतिरेसम्म डिस्चार्ज हुँदैन भनेका छन्। घरमा पालिरहेको भैँसीसमेत बेचिसक्यौँ।अब पैसा आउने र बेच्ने चिज छैन ।’
आर्यालाई बिरामी भएपछि आठ दिनपछि मात्रै होस आएको थियो। धादिङमा उपचारपछि उनलाई काठमाडौंको कान्ति बाल अस्पताल पठाइएको थियो। त्यसपछि मनमोहन मेमोरियल अस्पतालमा ल्याएर उपचार भइरहेको परिवारले जनाएको छ।
आँखाको उपचारका लागि चिकित्सकले कम्तीमा एक महिना अस्पतालमै राख्नुपर्ने र नियमित उपचारका लागि दैनिक अस्पताल आउनुपर्ने बताएका छन्। तर उपचारका लागि आवश्यक रकम जुटाउन नसक्दा परिवार थप संकटमा परेको छ। ‘छोरीले आँखा देख्दिनँ। उपचारका लागि दिनदिनै अस्पताल आउनुपर्छ भनेका छन्। एक महिना अस्पतालमै राख्नुपर्ने पनि भनेका छन्,’ सोमबहादुरले भने, ‘पैसा छैन। अब कसरी उपचार गर्ने भन्ने चिन्तामा छौँ।’
आफ्नो आर्थिक अवस्थाले छोरीको उपचार धान्न नसक्ने भएपछि सोमबहादुरले सहयोगका लागि अपिल गरेका छन्। तीन वर्षीया छोरीको उपचारका लागि सहयोग गरिदिन उनले सबैसँग आग्रह गरेका छन्। ‘म अभागी बुबा, छोरी अस्पतालमा छटपटाइरहँदा उपचार गर्ने पैसा छैन,’ उनले भने, ‘कसैले छोरीको उपचारमा सहयोग गरिदिए उनको ज्यान बच्थ्यो कि। सहयोग गरिदिनुहोस्।’
सहयोगका लागि आर्याका बुबा सोमबहादुर चेपाङको फोन नम्बर ९७६५४२४१०५ रहेको छ ।



