चौतारामा ‘हजुरआमासँग मनका कुरा’

  • २०८३ कार्तिक ४, मंगलबार (५ मिनेट अघि)
  • २ पटक पढिएको
चौतारामा ‘हजुरआमासँग मनका कुरा’

धादिङ —धादिङको नीलकण्ठ नगरपालिका–१२, साङ्कोषस्थित तातोपानी चौतारामा ‘हजुरआमासँग मनका कुरा’ कार्यक्रम सञ्चालन गरिएको छ । दशैं–तिहार विशेष कार्यक्रमअन्तर्गत ज्येष्ठ नागरिकका जीवनभोगाइ सुन्ने र नयाँ पुस्तासँग अनुभव साट्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमकै अवसरमा नवनिर्मित चौतारा उद्घाटन, ज्येष्ठ नागरिक सम्मान तथा सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको हो ।

Advertisement

कार्यक्रमको विशेष आकर्षणका रूपमा ‘हजुरआमासँग मनका कुरा’ शीर्षकमा अन्तरक्रिया गरिएको थियो। कार्यक्रममा सञ्चालक नमुना सापकोटा र सम्झना सापकोटाले मनकुमारी सुवेदीसँग जीवनका अनुभव, विगतका भोगाइ र विभिन्न सामाजिक विषयमा कुराकानी गरेका थिए । अन्तरक्रियाले ज्येष्ठ नागरिकका अनुभव र नयाँ पुस्ताबीच संवादको अवसर सिर्जना गरेको थियो ।

पार्क निर्माण उपभोक्ता समितिको आयोजना तथा कुडुले तातोपानी टोल विकास संस्थाको संयोजनमा आयोजित कार्यक्रममा ९३ वर्षीया मनकुमारी सुवेदी र गंगादत्त रिजाललाई सम्मान गरिएको पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष सन्तोष सापकोटाले बताए ।

कार्यक्रमकै अवसरमा तातोपानी चौतारामा पार्क निर्माण उपभोक्ता समितिद्वारा निर्माण गरिएको चौतारा तथा आसपासका पूर्वाधार कुडुले तातोपानी टोल विकास संस्थाको कार्यसमितिलाई हस्तान्तरण गरिएको छ । बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयअन्तर्गत पर्यटन विकास आयोजनाबाट प्राप्त १९ लाख रुपैयाँ र दुई लाख ६५ हजार रुपैयाँ बराबरको जनश्रमदान गरी कुल २१ लाख ६५ हजार रुपैयाँको लागतमा उक्त संरचना निर्माण गरिएको हो ।

कार्यक्रममा बालबालिकाले नृत्य, नाटक तथा विभिन्न मनोरञ्जनात्मक प्रस्तुति दिएका थिए । बालबालिकाका लागि मनोरञ्जनात्मक खेलसमेत सञ्चालन गरिएको थियो । बालबालिकाकै सक्रिय सहभागिता रहेको कार्यक्रमले पुस्तान्तरण, सामाजिक सद्भाव र ज्येष्ठ नागरिकप्रतिको सम्मानलाई जोड दिएको थियो । कुडुले तातोपानी टोल विकास संस्थाका अध्यक्ष द्रोणाचार्य सिम्खडाले यस्ता कार्यक्रमले समाजमा सकारात्मक प्रभाव पार्नुका साथै सामाजिक एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउन सहयोग पुग्ने बताए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट