नेपाल आयल निगम ५४औँ वर्षमा प्रवेश

  • २०८० पौष २६, बिहिबार (६ महिना अघि)
  • १९१ पटक पढिएको
नेपाल आयल निगम ५४औँ वर्षमा प्रवेश

काठमाडौं- नेपाल आयल निगम आजदेखि ५४औँ वर्षमा प्रवेश गरेको छ । मुलुकमा पेट्रोलियम पदार्थको आयात, भण्डारण र वितरणको एकाधिकार पाएको निगमले विराटनगर, भद्रपुर, अमलेखगञ्ज, वीरगञ्ज, जनकपुर, थानकोट, मन्थली, भैरहवा, नेपालगञ्ज, पोखरा, दाङ, सुर्खेत, दिपायल र धनगढीबाट पेट्रोलियम पदार्थको कारोबार गरिरहेको छ ।

Advertisement

निगमले मुलुकका विभिन्न स्थानमा ७९ हजार नौ सय ९० किलोलिटर क्षमताका भण्डारण ट्याङ्करमा आयातित इन्धन भण्डारण गरी बिक्री वितरणको व्यवस्था मिलाइरहेको छ । निगमसँग १३ हजार छ सय ६२ किलोलिटर पेट्रोल, ४५ हजार आठ सय ४८ किलोलिटर डिजल, दुई हजार छ सय ९५ मट्टितेल र आठ हजार आठ सय १५ किलोलिटर हवाई इन्धन भण्डारण क्षमता रहेको छ । सरकारी स्वामित्वको निगमसँग १३ दिनको माग धान्न सक्ने भण्डारण क्षमता छ । निगमले इन्डियन आयल कर्पोरेसनबाट वार्षिक करिब रु ३० लाख किलोलिटर पेट्रोलियम पदार्थको आयात गर्ने गरेको छ ।

निगम केन्द्रीय कार्यालय टेकुमा आज आयोजित कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले निगमलाई थप सुदृढ बनाएर लैजाने बताए । निगम सञ्चालक समितिका अध्यक्ष एवं आपूर्ति सचिव नारायणप्रसाद शर्मा दुवाडीले निगमलाई सबल र सक्षम संस्थाका रूपमा विकास गर्न व्यावसायिक छवि उकास्न तथा नागरिकप्रतिको दायित्व पूरा गर्न नीतिगत सुधार आवश्यक रहेको बताए ।

त्यस अवसरमा मन्त्री रिजालले उत्कृष्ट कर्मचारीलाई पुरस्कार प्रदान गर्नुका साथै निगमको ५४औँ वार्षिकोत्सवका अवसरमा प्रकाशित मुखपत्र ‘प्रभात’को विमोचन गरेका छन् । वार्षिकोत्सवका अवसरमा आयोजित विभिन्न खेलकुद प्रतियोगिताका विजयीलाई पुरस्कार, प्रमाणपत्र तथा पदक प्रदान गरिएको हो ।

निगमले आव २०७९÷८० मा करिब रु १६ अर्ब नाफा गरेको निमित्त कार्यकारी निर्देशक नागेन्द्र साहले जानकारी दिए । कुल अधिकृत पुँजी रु ३० अर्ब र चुक्ता पुँजी रु ११ अर्ब रहेको निगममा नेपाल सरकारको ९८ दशमलव ३८ प्रतिशत सेयर रहेको छ । निगमले गत आव २०७९÷८० मा करिब रु तीन खर्ब ८३ अर्बको कारोबारमार्फत सरकारलाई रु एक खर्ब १५ अर्ब राजस्व भुक्तानी गरी मुलुकको अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्याएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट