मिर्चैया नगरपालिकाबाटै राहदानी

  • २०८० माघ ५, शुक्रबार (६ महिना अघि)
  • १६८ पटक पढिएको
मिर्चैया नगरपालिकाबाटै राहदानी

काठमाडौं- सिराहाको मिर्चैया नगरपालिकाले राहदानी वितरणको काम शुरु गरेको छ । नागरिकको सहजताका लागि राहदानीको अनलाइन फारम भर्नेदेखि बनेर आएको राहदानी पालिकामै वितरण गर्नेसम्मको सेवा नगरपालिकाले दिन थालेको हो ।

Advertisement

नगरपालिकाले राहदानीका लागि निःशुल्क अनलाइन फारम भर्ने व्यवस्था गरिदिएको छ । राहदानी बनाउन आउने सेवाग्राही बायोमेट्रिक र राजस्व दाखिलाका लागि एकपटक मात्रै जिल्ला प्रशासन पुगे हुन्छ । राहदानी विभागबाट बनेर आएका राहदानी जिल्ला प्रशासनको सहकार्यमा पालिकामै वितरण थालेको हो ।

मिर्चैयाका नगरप्रमुख श्रवणकुमार यादवले बुधबार पहिलो सेवाग्राहीका रूपमा मिर्चैया– ६ की शर्मिलाकुमारी घिमिरेलाई राहदानी वितरण गरे । घिमिरेसहित तीन सेवाग्राहीको राहदानी पालिकामै ल्याएर वितरण गरिएको हो । राहदानी बनाउने झन्झटबाट सेवाग्राहीलाई सहज होस् भनेर नगरपालिकाबाटै राहदानी दिने व्यवस्था मिलाइएको नगरप्रमुख यादवले बताए ।

सेवाग्राहीका लागि निःशुल्क अनलाइन फारम भर्न नगरपालिकाले दुई कर्मचारीको व्यवस्था गरेको छ । नेपाल सरकार र स्विस सरकारको साझेदारी तथा हेल्वेटास नेपालको प्राविधिक सहयोगमा सञ्चालित वैदेशिक रोजगारीबाट फर्किएकाका लागि पुनः एकीकरण परियोजना (रेमी) अन्तर्गत पालिकाबाट नै राहदानीका लागि सुविधा दिन थालिएको हो । मिर्चैयाले गत ५ मंसिरदेखि राहदानीका लागि निःशुल्क अनलाइन फारम भर्न थालेकामा बिहीबारसम्म ३३ जनाले भरिसकेका छन् । जसमध्ये तीनजनालाई राहदानी वितरण गरिएको हो ।
सिराहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जिल्लाका अन्य पालिकाले पनि राहदानीको अनलाइन फारम भर्न र वितरणका लागि सहजीकरण गर्ने गरी माग गरेमा अनुमति दिने बताएका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट