





























काठमाडौं– नमोबुद्ध नगरपालिका– ७ काभ्रेका ४५ वर्षीय रामलाल श्रेष्ठलाई आफ्नै बुबाको हत्या अभियोगमा प्रहरीले पक्राउ गरेको छ । धारापानीस्थित पुजारी थुम्का बस्ने ७४ वर्षीय बलबहादुर श्रेष्ठलाई हत्या गरेको आरोपमा जेठा छोरा रामलाल पक्राउ परेका जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ।


प्रहरीका अनुसार गत १० कात्तिकमा बलबहादुर कोठामा मृत अवस्थामा फेला परेका थिए । उनलाई मृत अवस्थामा देखेपछि छोरीले प्रहरी चौकी भकुन्डेबेँसीमा खबर गरेकी थिइन् । बाबुको हत्या आरोपमा रामलाल १४ दिनपछि २३ कात्तिकमा पक्राउ परेका हुन् ।
प्रारम्भिक अनुसन्धानअनुसार ८ कात्तिकमा साँझ करिब ८ बजेको समयमा श्रेष्ठको सपरिवार खाना खाई सुत्न भनी चोटा (माथिल्लो तला)मा गएपछि रामलालले बाबुसँग अंश मागेका थिए । बलबहादुरले अन्य छोरालाई पनि बोलाएपछि मात्र अंशको विषयमा कुराकानी हुने भनेपछि बाबु–छोराबिच भनाभन भएको प्रहरीको भनाइ छ ।
सोही क्रममा रामलालले बुबालाई अनुहार र टाउकोमा मुक्काले प्रहार गरी हँसियाले टाउकोमा चार–पाँचपटक प्रहार गरेपछि फलामको गलले प्रहार गरेका थिए । त्यसपछि बलबहादुर भुइँमा ढलेको र सोही समयमा गलले घाँटी थिचेर हत्या गरी फरार भएको भनी उनले स्विकारेको प्रहरीको भनाइ छ । खोजतलास गर्दै जाने क्रममा घरनजिकैको ढोडेनी वनमा लुकीछिपी बसेको अवस्थामा उनी पक्राउ परेका हुन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
