काम नगर्ने ठेकेदारको खुट्टा भाँच्नुः पूर्वाधार मन्त्री सुनिल लम्साल

काम नगर्ने ठेकेदारको खुट्टा भाँच्नुः पूर्वाधार मन्त्री सुनिल लम्साल

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले निर्माणाधीन नागढुङ्गा– मुग्लिङ सडक आयोजनाको स्थलगत अनुगमनका क्रममा सम्बन्धित निकायलाई कडा निर्देशन दिएका छन् । मन्त्री लम्सालले सडकमा रहेको बिजुलीको पोल हटाउन ढिला गर्ने ठेकेदारप्रति आक्रोश व्यक्त गर्दै धादिङका सुरक्षा निकायका प्रमुखहरूसँगको छलफलका क्रममा काम नगर्ने ठेकेदारलाई खुट्टा भाँच्नु भन्ने अभिव्यक्ति दिएका हुन् ।

Advertisement

अनुगमनका क्रममा धादिङका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र आयोजना प्रमुख लगायतका सरोकारवाला अधिकारीहरूलाई निर्माण कार्यलाई तीव्रता दिन उनले निर्देशन दिएका छन् । नागरिकले काम छिटो चाहेको छ । आवश्यक सामाग्रीको उपलब्धता र सहजीकरण गरि निर्माण कार्य समयमै सम्पन्न गर्न सम्बन्धित निकायलाई उनले निर्देशन दिएका हुन् ।

‘यो बिजुलीको पोल सार्ने कन्ट्रयाक्टर धरतीमा कहाँ छ, खोजेर लिएर यहीँ राख्नुस् । काम गर्दैन भने खुट्टा भाँच्दिनु, मतलब भएन’ उनले भने । उक्त अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जाल र सार्वजनिक वृत्तमा मिश्रित प्रतिक्रिया देखिएको छ । केहीले सडक आयोजनामा भइरहेको ढिलाइप्रति मन्त्रीको असन्तुष्टि र कडा चेतावनीका रूपमा व्याख्या गरेका छन् । केहीले सार्वजनिक पदमा रहेका व्यक्तिबाट हिंसात्मक आशय झल्किने भाषा प्रयोग गर्नु उपयुक्त नहुने टिप्पणी गरेका छन् ।

अनुगमनका क्रममा मन्त्री लम्सालले आयोजनामा देखिएका प्रशासनिक तथा प्राविधिक अवरोध हटाउन मन्त्रालयले आवश्यक सहजीकरण गर्ने बताएका छन् । राष्ट्रिय महत्वको नागढुङ्गा–मुगलिङ सडक आयोजना समयमै सम्पन्न गर्न सरकार, निर्माण कम्पनी, विद्युत् प्राधिकरण तथा स्थानीय प्रशासनबीच प्रभावकारी समन्वय आवश्यक रहेको उनले बताए । पछिल्लो समय बिटुमिन अभावका कारण प्रभावित बनेको आयोजनाको काम अहिले पुनः तीव्र गतिमा अघि बढिरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट