धादिङमा तीन उत्कृष्ट किसानलाई जनही ५० हजार पुरस्कार

  • २०८३ अषाढ ४, बिहिबार (१ मिनेट अघि)
  • १९ पटक पढिएको
धादिङमा तीन उत्कृष्ट किसानलाई जनही ५० हजार पुरस्कार

काठामाडौं– सिद्धलेक गाउँपालिका–२ नलाङ पात्लेकी रोशिका गुरुङ उत्कृष्ट कृषक उद्यमी घोषित भएकी छिन् । एक्सन नेपालद्धारा सञ्चालित कृषि तथा पशुमूल्य शृंखलामा नवीनता परियोजना अन्तर्गत सञ्चालन गरिएको ‘कृषि उद्यम द्रुतीकरण कार्यक्रम’ मा किसानहरुलाई अनुभव शेयररिङ गरिएको हो ।
रोशिकासँगै सिद्धलेक–६ का रामकुमार श्रेष्ठ दोस्रो तथा नीलकण्ठ नगरपालिका–१० का बुद्धिप्रसाद बुर्लाकोटी तेस्रो भएका छन् । पुरस्कृत किसानलाई जनही ५० हजार रुपैयाँ नगदसहित प्रशंसापत्र प्रदान गरिएको छ । चौथो स्थान हासिल गर्नुभएको बिमला कोइरालालाई भने ग्लोबल आइएमई बैंकले १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरेको छ ।

Advertisement

एक्सन नेपालका कार्यकारी निर्देशक कमलराज ढुङ्गानाले किसानहरुलाई प्रविधि सम्बन्धि ज्ञान दिने र बजारीकरणसँग जोड्न सहयोग पुर्याउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए । ‘किसानले उत्पादन गरेका कृषिजन्य उत्पादनले बजार पाएका छैनन् । कृषि क्षेत्रमा किसानको लगानी र आकर्षण बढेपनि दिगोपना हुन सकेको छैन’ उनले भने– ‘किसानलाई सरोकारवालासँग घुलमिल बनाउने र बजारीकरणसँग जोडी आत्मनिर्भर बनाउन यो प्रयास गरिएको हो ।’
एक्शन नेपालले हेफर इन्टरनेशनल नेपाल र नीलकण्ठ नगरपालिकाको साझेदारीमा सञ्चालन गरिरहेको छ । ‘उच्च सम्भावना भएका कृषक उद्यमीहरूको पहिचान, क्षमता विकास तथा व्यवसायिक उन्नयन गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको कार्यक्रमले कृषिलाई परम्परागत पेशाबाट व्यवसायिक तथा बजारमुखी उद्यममा रूपान्तरण गर्न प्रेरित गर्ने लक्ष्य लिएको छ’ उनले भने ।

कार्यक्रमको पहिलो चरणमा १ हजार ५ सय किसानका लागि खुला आवेदन आह्वान गरिएको थियो । प्राप्त आवेदनहरूको विस्तृत मूल्याङ्कनपछि जलवायु–मैत्री प्रविधिको प्रयोग, उत्पादन क्षेत्रफल, बिक्री परिमाण, नवप्रवर्तनशील सोच तथा नेतृत्व क्षमताका आधारमा उत्कृष्ट २५ जना कृषक छनोट गरिएको थियो ।
छनोट भएका कृषकहरूलाई उद्यम विकाससम्बन्धी तीन दिने सघन तालिम प्रदान गरिको े। तालिममा उत्प्रेरणा, व्यवसाय व्यवस्थापन, बजार विश्लेषण, वित्तीय योजना, उद्यम विस्तार तथा नेतृत्व विकासका विषय समेटिएका थिए । साथै सहभागीहरूले आगामी तीन महिनाका लागि आफ्नो उद्यम सुधार तथा विस्तार गर्ने कार्ययोजना पनि तयार गरेका थिए ।

तीन महिनासम्म कार्ययोजना अनुसार विभिन्न गतिविधि सञ्चालन गरेपछि कृषकहरूको प्रगति मूल्याङ्कन गर्न बहुपक्षीय निर्णायक मण्डलले खेत तथा उद्यममा प्रत्यक्ष अवलोकन भ्रमण गरेको थियो । निर्णायक मण्डलमा शैक्षिक क्षेत्रका विज्ञ, डिजिटल कृषि तथा निजी क्षेत्रका प्रतिनिधि, स्थानीय सरकार, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था तथा वित्तीय संस्थाका प्रतिनिधिहरू सहभागी थिए ।

कार्ययोजनाको प्रभावकारी कार्यान्वयन तथा उद्यममा देखिएको सकारात्मक परिवर्तनका आधारमा उत्कृष्ट १० जना कृषक अन्तिम चरणका लागि छनोट भएका थिए । १० जना कृषकहरूलाई पिचिङ तथा कथावाचनसम्बन्धी दुईदिने तालिम दिएपछि उनीहरुबाट आफ्ना अनुभव, उपलब्धि, सिकाइ तथा भावी योजनाहरू प्रभावकारी रूपमा प्रस्तुत गरेका हुन् ।

नगरपालिकाले अन्य क्षेत्र जस्तै कृषि क्षेत्रलाई पनि विशेष प्राथमिकता राखेर काम गरिरहेको नीलकण्ठ नगरपालिकाका प्रमुख भिम प्रसाद ढुङ्गानाले बताएका छन् । ‘एक्सन नेपालले गरेको यो काम प्रशंसनिय छ । किसानका क्षमता अभिवृद्धि गरि उत्पादन र बजारीकरणमा सहयोग पुगेको छ । नगरपालिकाले विभिन्न अनुदान तथा तालिम मार्फत किसानको उत्पादन र बजारीकरणमा जोड दिदै आएको छ’ उनले भने ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट