काठमाडौं– नेपाल प्रहरी प्रधान कार्यालयको कार्य सम्पादन मासिक मुल्याङ्कनमा जिल्ला प्रहरी कार्यालय धादिङ पुनः प्रथम भएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयको कार्यसम्पादन मूल्याङ्कनमा धादिङ जेठ महिनामा कार्य सम्पादनमा पुनः दोश्रो पटक प्रथम भएको हो । प्रहरी उपरीक्षकको नेतृत्वमा रहेका देशभरका १५ वटा पहाडी जिल्लाका प्रहरी कार्यालयहरू मध्ये जेष्ठ महिनाको मासिक मूल्याङ्कनमा धादिङ उत्कृष्ट बनेको हो । जिल्ला प्रहरी कार्यालय धादिङ यसअघि वैशाख महिनामा पनि प्रथम बनेको थियो।
प्रशासनिक सुधार र कार्यालय अभिलेख व्यवस्थापन‚ अपराध न्यूनीकरण अपराधिक घटनाको पुराना बाँकी रहेका मुद्दाहरूको अनुसन्धान लगायत फैसला कार्यान्वयनमा देखाएको सक्रियताले धादिङ प्रहरी उत्कृष्ट बनेको हो । राजमार्गको संवेदनशीलतालाई मध्यनजर गर्दै सडक तथा सवारी सुरक्षा‚ प्रहरी परिचालन‚ उजुरी तथा गुनासो व्यवस्थापन तथा विपद व्यवस्थापनमा देखाएको सक्रियताले जिल्ला प्रहरी कार्यालय धादिङको काम उत्कृष्ट गरेको हो ।
जिल्ला प्रहरी कार्यालय धादिङले पछिल्लो समयमा समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत नागरिकहरुसँगको समन्वयलाई बढाउँदै सामाजिक विकृति र विसंगति विरुद्ध चालेका कदमहरुले पनि स्थानीय स्तरमा सकारात्मक प्रभाव पारेका छन् । समग्र प्रहरी संगठन भित्रको स्वस्थ प्रतिस्पर्धा गराउने र नागरिकको सेवा प्रवाह र शान्ति सुरक्षामा महत्वपूर्ण भूमिका खेलेको छ ।
यस्ता मूल्याङ्कनले थप कार्यमा हौसला मिलेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। विगतका तथ्यहरुलाई हेर्दा यस्तो मूल्याङ्कन प्रणालीले प्रहरी कर्मचारीहरुमा जिम्मेवारी बोध गराएको र कार्यदक्षता बढाउन आगामी दिनमा नागरिकको सुरक्षा र सेवामा अझ बढी जिम्मेवार र प्रतिबद्ध भएर लाग्न थप उर्जा मिलेको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
