काठमाडौं– धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ स्थित बुढीगण्डकी र नेत्रावती नदीको संगमस्थलमा रहेको नृसिंहधाममा भएको पुरुषोत्तम महामहोत्सवमा ४ करोड ४४ लाख ४२ हजार ८ सय ९९ रुपैयाँ दान सङ्कलन भएको छ । धामले शनिबार पत्रकार सम्मेलन गरी खर्च विवरण सार्वजनिक गरेको हो ।
३ करोड ९७ लाख ३७ हजार ८ सय ९९ रुपैयाँ दान सङ्कलन र ४७ लाख ५ हजार प्रतिबद्धता गरी ४ करोड ४४ लाख ४२ हजार ८ सय ९९ रुपैयाँ सङ्कलन भएको नृसिंहधाम विकास समितिका कोषाध्यक्ष विष्णुहरी उप्रेतीले बताए ।
त्यसैगरी महामहोत्सवमा १ करोड ५५ लाख ८१ हजार ३५ रुपैयाँ खर्च भएको छ । खर्च कटाएर २ करोड ८८ लाख ६१ हजार ८६४ रुपैयाँ बचत रहेको उनले बताए । सञ्चार क्षेत्रमा ३२ लाख, इन्टरनेटमा १ लाख ४६ हजार, स्टेसनरीमा ५९ हजार ७ सय ५० रुपैयाँ लगायतका खर्चहरू अधिक देखिएको भन्दै पत्रकारहरूले जिज्ञासा राखेका थिए। एउटै टेलिभिजनलाई २६ लाखसम्म दिए पनि धादिङका सञ्चारमाध्यमहरूलाई नसमेटिएकोप्रति गुनासो गरेका छन् ।
वैदिक सनातन परम्परा अनुसार भगवान् नृसिंहदेवका १२ प्रमुख पीठमध्ये नेपालमा रहेको एकमात्र पीठका रूपमा परिचित नृसिंहधाममा पुरुषोत्तम महिनाको अवसर पारेर जेठ महिनाभर महोत्सव चलेको थियो। धादिङ लगायत नेपालभर र छिमेकी मुलुक भारत लगायत अन्य देशहरुबाट नृसिंहधाम दर्शनका लागि आएका थिए। एक महिनासम्म चलेको महामहोत्सवमा ३३ लाख भक्तजनले दर्शन गरेको पिठाधिश् डाक्टर श्रीवास कृष्णदास ब्रह्मचारीले बताए ।

स्कन्द र वराह पुराणमा समेत उल्लेखित नृसिंहधाम भगवान् नृसिंहदेव प्रकट भई दिव्यलिला गरेको पवित्र भूमिका रुपमा परिचित छ । परापूर्वकालदेखि नृसिंहधाम क्षेत्रमा विशेष धार्मिक महोत्सव गरिदै आएको उनले बताए ।
नृसिंहधाम विकास समितिका अध्यक्ष भुमी कंडेलले सबैको साथ सहयोगले महामहोत्सव सम्पन्न भएको बताए । धेरै कमी कमजोरी भएका छन् । सिकाइको रुपमा लिँदै आगामी दिनमा व्यवस्थित रूपमा महोत्सव गर्ने उनले बताए ।
नृसिंहधामले त्रिपुरासुन्दरी गाउँपालिकालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा पहिचान दिएको गाउँपालिका अध्यक्ष राजु उप्रेतीले बताए ।’नेपाल लगायत थुप्रै मुलुकहरूबाट भक्तजनहरू दर्शन गर्न आउनुभयो । पहिचानसङ्गै धार्मिक, सामाजिक तथा आर्थिक रूपले यस पालिकालाई ठूलो सहयोग मिलेको छ। हरेक वर्ष नृसिंह धामलाई बजेट छुट्याउने र यसको विकास संरक्षण र सम्वर्धनमा पालिकाको साथ सहयोग रहने छ’ उनले भने ।


स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
