धादिङ– धादिङको सिद्धलेक गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ६० करोड ५० लाख ४५ हजार २ सय ६० रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको १९ औँ गाउँसभाबाट ‘उज्यालो सिद्धलेक, समृद्ध सिद्धलेक’ भन्ने मूल नारासहित नीति, कार्यक्रम र बजेट प्रस्तुत गरिएको हो ।
सिद्धलेक गाउँपालिकाका उपाध्यक्ष सोबिता अर्यालले प्रस्तुत गरेको कुल बजेटमध्ये संघीय र प्रदेश सरकारबाट प्राप्त हुने सशर्त, समपूरक र विशेष अनुदानतर्फ ३३ करोड १२ लाख ५४ हजार रुपैयाँ विनियोजन गरिएको छ। २७ करोड ३७ लाख ९१ हजार २ सय ६० रुपैयाँ आन्तरिक राजस्व, राजस्व बाँडफाँड र वित्तीय समानीकरण अनुदानबाट व्यवस्थापन गरिने गाउँपालिकाले जनाएको छ।
शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा विकास पूर्वाधारलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याइएको गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाले बताए । गाउँपालिकाले पूर्वाधार विकास र सुशासनलाई प्राथमिकतामा राख्दै लागत साझेदारीमा विकास योजना सञ्चालन गर्ने नीति लिएको छ। “एक टोल, एक उपभोक्ता समिति” गठन गरिने तथा सडक मर्मत र संरक्षणका लागि “हाम्रो सडक, हाम्रै सुरक्षा” कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।
शिक्षातर्फ सामुदायिक विद्यालयमा कक्षा १ देखि १२ सम्मको शिक्षालाई पूर्ण निःशुल्क बनाउने गरी ‘निःशुल्क शिक्षा कार्यविधि २०८३’ लागू गरिने भएको छ। स्वास्थ्य तथा सामाजिक सुरक्षातर्फ घरमै स्वास्थ्य सेवा पुर्याउने कार्यक्रम ल्याइएको छ। “अध्यक्षसँग ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम” मार्फत ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य परीक्षण र औषधि उपलब्ध गराइनेछ। गर्भवती तथा सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा र “उपाध्यक्षसँग सुत्केरी पोषण कार्यक्रम” सञ्चालन गरिने भएको छ। ‘ग’ वर्गका अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरिएको छ।
कृषि, रोजगार र पर्यटनतर्फ “हाम्रो उत्पादन, हाम्रो स्वाभिमान” अभियान सञ्चालन गरिने भएको छ। प्रत्येक वडामा “एक वडा, एक पर्यटकीय गन्तव्य” र “एक घर, एक उद्यमी, एक वडा, एक उत्पादन” अभियान लागू गरिने जनाइएको छ।
राजस्व व्यवस्थापनतर्फ व्यवसाय दर्ता, होडिङ बोर्ड, खानी, क्रसर, ढुंगा–गिट्टी निकासी तथा तीन पाङ्ग्रे अटो रिक्सालाई करको दायरामा ल्याइने नीति लिइएको छ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
