शैक्षिक सुधार गर्न ज्वालामुखी गाउँपालिकामा अध्यक्षसँग साक्षात्कार

  • २०८३ अषाढ ९, मंगलबार (४७ मिनेट अघि)
  • १२ पटक पढिएको
शैक्षिक सुधार गर्न ज्वालामुखी गाउँपालिकामा अध्यक्षसँग साक्षात्कार

काठमाडौं– धादिङको ज्वालामुखी गाउँपालिकाले गाउँपालिका अन्तर्गतका माध्यामिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थी, शिक्षक र अभिभावकहरुसँग अध्यक्ष साक्षत्कार कार्यक्रम शुरु गरेको छ । शिक्षा क्षेत्रका समस्याको पहिचान गरी समाधान खोज्ने र शैक्षिक गुणस्तरमा सुधार ल्याउने उद्देश्यले मंगलबारदेखि साक्षत्कार कार्यक्रम सुरु गरिएको हो ।

Advertisement

ज्वालामूखी गाउँपालिका वडा नम्बर ६ र ७ मा रहेका सुनखानी माध्यमिक विद्यालय, सालबास माध्यमिक विद्यालय तथा भुवनेश्वरी माध्यमिक विद्यालयमा शिक्षक, विद्यार्थी र अभिभावकहरुसँग अध्यक्ष यमनाथ दनैले छलफल तथा अन्तरक्रिया गरेका हुन् । छलफलका क्रममा विद्यार्थीहरुले ल्याव अभाव, पुस्तकालय, खेलकुद सामाग्री, विषयगत शिक्षक अभाव, नियमित पठनपाठन, शैक्षिक क्षेत्रमा पालिकाले गरेको लगानी, गुणस्तरिय शिक्षाका लागि चालिएका प्रयास र आगामी योजना जस्ता विषयमा जिज्ञासा राखेका थिए ।

त्यस्तै, शिक्षकहरुले तलब लगायत अन्य सेवा सुविधा, विद्यालय कम्पाण्ड, पर्याप्त शिक्षक दरबन्दी अभाव लगायतका विषय उठाएका छन् । अभिभावकहरुले विद्यालयमा गुणस्तरिय शिक्षा नभएको गुनासो गर्दै सामुदायिक विद्यालयलाई सुधार गर्नुपर्नेमा जोड दिएका छन् । स–साना बालबालिकादेखि शिक्षक र अभिभावकहरुले उत्साहका साथ अध्यक्ष दनैलाई खुलेरै प्रश्न गरेका थिए । उठेका प्रश्नहरुको सम्बोधन गर्दै अध्यक्ष दनैले विद्यार्थी, शिक्षक र अभिभावकको साझा प्रयासबाट मात्र शैक्षिक उपलब्धि हासिल गर्न सकिने बताए ।

‘विद्यालयका समस्या लिएर गाउँपालिका कार्यालयसम्म पुग्न नसक्ने नागरिकका लागि हामी विद्यालयमै आएका हौँ । यहाँबाट प्राप्त सुझाव, सल्लाह र प्रश्नले थप जिम्मेवार र उत्साहित बनाएको छ,’ अध्यक्ष दनैले भने,– –समस्या छन्, तर परिवर्तन पनि भइरहेको छ । विद्यालयहरूले हासिल गरेका उत्कृष्ट नतिजा त्यसकै प्रमाण हुन् । गुणस्तरीय शिक्षामा केन्द्रित हुनुस्, आवश्यक लगानी व्यवस्थापन गर्न गाउँपालिका तयार छ।”

गाउँपालिकाका शिक्षा अधिकृत विष्णुप्रसाद न्यौपानेले शिक्षा क्षेत्रलाई स्थानीय सरकारको उच्च प्राथमिकतामा राखिएको बताउँदै शैक्षिक सुधारमार्फत पालिकाको समग्र विकास सम्भव हुने बताएका छन् । ‘शिक्षा बालबालिकाको मात्र नभई देशकै भविष्यसँग जोडिएको विषय हो। विद्यालयका वास्तविक समस्या पहिचान गरी समाधान खोज्ने र गुणस्तरीय शिक्षाका लागि आवश्यक सुधारात्मक कदम चाल्ने हाम्रो लक्ष्य हो,” उनले भने ।

मंगलबारदेखि सुरु गरिएको विद्यार्थी, शिक्षक र अभिभावकहरुसँग अध्यक्ष साक्षत्कार कार्यक्रम पालिकाका सबै माध्यामिक विद्यालयमा सञ्चालन गरिने उनले बताए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट