धादिङ– धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा चेपाङ, दलित, गरिब तथा बञ्चितीकरणमा परेका समुदायको आयआर्जन तथा जीविकोपार्जनमा टेवा पुर्याउने उद्देश्यले मौरीसहितको आधुनिक घार वितरण गरिएको छ ।
बागमती प्रदेश सरकारको सहकारी तथा गरिबी निवारण मन्त्रालयद्वारा विनियोजित कार्यक्रम अन्तर्गत रैथाने बाली प्रवद्र्धन कार्यक्रम, जलवायुमैत्री प्रविधि प्रवद्र्धन कार्यक्रम तथा निर्यातजन्य बाली प्रवद्र्धन कार्यक्रममार्फ त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नम्बर १ का २४ जना नागरिकलाई मौरीसहितको आधुनिक घार तथा आवश्यक सामग्रीहरू वितरण गरिएको हो ।

मौरीपालन व्यवसायले ग्रामीण समुदायको आर्थिक अवस्था सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने त्रिपुरासुन्दरी गाउँपालिकाका उपाध्यक्ष देवराज धरेलले बताए । ‘मौरीपालन ग्रामीण क्षेत्रका कृषकका लागि राम्रो सम्भावना बोकेको व्यवसाय हो । यसबाट उत्पादित महको बजार माग उच्च रहेकाले कृषकले अतिरिक्त आम्दानी लिन सक्ने अवस्था छ ।वितरण गरिएका सामग्रीको सदुपयोग गरी आयआर्जन वृद्धि गर्न गर्न सके आर्थिक अवस्था मजबुद बनाउन सकिन्छ’ उनले भने ।
त्यसैगरी, वडा नम्बर १ का वडाध्यक्ष भिमप्रसाद भट्टले मौरीपालनलाई व्यवसायिक रुपमा गर्न सके आत्मनिर्भर बन्ने उनले बताए । ‘कृषकको आम्दानी वृद्धि गर्नुका साथै कृषि उत्पादन बढाउन पनि मौरीले सहयोग गर्छ । व्यावसायिक रूपमा लाग्नुभएका किसानलाई नितन्तर रुपमा सहयो गर्नेछौं । उत्पादनदेखि बजारीकरणसम्म किसानकै साथमा छौं’ उनले भने ।

गाउँपालिकाले यस्ता आयमूलक कार्यक्रममार्फत विपन्न तथा बञ्चित समुदायको जीवनस्तर उकास्ने लक्ष्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । विभिन्न तालिम तथा आवश्यक सामाग्री सहयोग गर्दै आएको पालिकाले जनाएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
