काठमाडौं– धादिङको ज्वालामुखी गाउँपालिका–४ मा रहेको ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट स्वास्थ्य संस्था बनेको छ । स्वास्थ्य संस्थाहरुको न्यूनतम सेवा मापदण्ड (एमएसएस) फलोअपमा ढोला स्वास्थ्य चौकी प्रथम भएको हो । ढोला स्वास्थ्य चौकीले यो उत्कृष्टतासँगै ह्याट्रिक गरेको हो ।


जनस्वास्थ्य कार्यालय धादिङ र सम्बन्धित स्थानीय तहबाट मापन गर्दा उत्कृष्ट बनेको हो । सुशासन तथा व्यवस्थापन, क्लिनिक र स्वास्थ्य चौकी सहयोग सेवामा ढोला स्वास्थ्य चौकीले ९६ प्रतिशत अंक प्राप्त गर्दै जिल्लाभर पहिलो स्थान हासिल गरेको हो ।
त्यसैगरी थाक्रे गाउँपालिकाको महादेवबेशी स्वास्थ्य चौकी तथा बेनीघाट–रोराङ गाउँपालिकाको जोगिमारा स्वास्थ्य चौकीले ९३ प्रतिशत अंकसहित दोस्रो स्थान प्राप्त गरेका छन् भने नीलकण्ठ नगरपालिकाको मुरलीभञ्ज्याङ स्वास्थ्य चौकीले ९२ प्रतिशत अंकसहित तेस्रो स्थान हासिल गरेको छ ।
ढोला स्वास्थ्य चौकीले आर्थिक वर्ष २०७८/०७९ देखि २०८२/०८३ सम्म ज्वालामुखी गाउँपालिकाभित्र लगातार पाँच वर्ष उत्कृष्ट स्वास्थ्य संस्था बन्न सफल भएको छ । आर्थिक वर्ष २०८०/०८१, २०८१/०८२ र २०८२/०८३ मा लगातार तीन वर्ष धादिङ जिल्लाभर प्रथम बन्न सफल भएको छ ।
स्थानीय सरकार, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा समुदायको साझा सहकार्यले ढोला स्वास्थ्य चौकी जिल्लामै उत्कृष्ट बनेको ज्वालामुखी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुजन श्रेष्ठले बताए । उनले भने– ‘ज्वालामुखी गाउँपालिकाले पछिल्ला वर्षहरूमा स्वास्थ्य क्षेत्रमा विभिन्न नवीन र जनमुखी कार्यक्रम सञ्चालन गर्दै आएको छ । गाउँपालिकाले ‘एक वडा एक स्वास्थ्यकर्मी’ कार्यक्रममार्फत प्रत्येक वडामा स्वास्थ्य सेवाको पहुँच विस्तार गरेको छ । ‘घरदैलोमा जनस्वास्थ्य सेवा’ कार्यक्रममार्फत नागरिकको घरघरमा स्वास्थ्य सेवा पु¥याउने अभ्यासलाई प्राथमिकता दिदै आएको छ ।’
‘नमुना आमा सुरक्षा कार्यक्रम’ सञ्चालन गरी सुरक्षित मातृत्वलाई प्रोत्साहन गरिएको छ । गाउँपालिकाले बागमती प्रदेशमै पहिलो पटक शतप्रतिशत संस्थागत सुत्केरी सुनिश्चित गर्दै ‘घरमा सुत्केरी शून्य पालिका’ को घोषणा गरि दिगोपना सुनिश्चिता प्रमाणीकरण गरिएको छ’ उनले भने ।
बालबालिकाको पोषण तथा स्वास्थ्य अवस्थालाई सुधार गर्ने उद्देश्यले ‘अबको गन्तव्य, पुड्कोपनको अन्त्य’ अभियान सञ्चालन गरिएको छ । साथै ‘कोखदेखि शोकसम्म ज्वालामुखी सरकार’ भन्ने अवधारणामार्फत जन्मदेखि वृद्ध अवस्थासम्म नागरिकको स्वास्थ्य सुरक्षामा केन्द्रित कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन् ।
पुर्ण सरसफाई उन्मुख पालिका बनाउदै नमुना स्वस्थ पालिका बनाउने अभियानमा रहेको उनले बताए । नमुना स्वस्थ पालिका रणनितिक योजना २०८२ बनाएर अघि बढेको छ । यस्ता कामहरुले स्वास्थ्य क्षेत्रलाई परिस्कृत गर्दैै लगेको उनको भनाई छ ।
गाउँपालिकाले सरसफाइ र स्वास्थ्यलाई जोड्दै देशकै पहिलो नमुना सफा तथा स्वच्छ गाउँपालिका घोषणा गरिएको ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले बताए । ‘गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर काम गर्दै आएको छ । पालिकाले स्वास्थ्य क्षेत्रमा गरेको लगानी र स्थानीय नागरिक, जनप्रतिनिधि साथीहरु तथा कर्मचारी सबैको साथ सहयोगले उपलब्धि र यो नजिता प्राप्त भएको छ । आगामी दिनमा पनि यस्तै उत्कृष्ट काम गर्ने प्रेरणा मिलेको छ’ उनले भने ।

