धादिङ– लायन्स क्लब अफ काठमाडौं सूर्यमुखीले आयोजना गरेको बृहत खुल्ला रक्तदान कार्यक्रममा १११ जनाले रक्तदान गरेका छन् । लायन वर्ष २०२६/२७ को कार्य शुभारम्भको अवसरमा धादिङमा ‘One Drop of Humanity, Give Blood, Save Lives‘ भन्ने मूल मर्मका साथ रक्तदान कार्यक्रम गरिएको हो ।
नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा केन्द्र धादिङको प्राविधिक सहयोगमा गरिएको रक्तदान कार्यक्रममा कारागार कार्यालय धादिङमा ५८ जना पुरुष र धादिङ अस्पतालमा ४४ जना पुरुष र ९ जना महिला गरी १११ जनाले रक्तदान गरेका हुन् ।
कार्यक्रमकै अवसरमा धादिङका पाँच जना पत्रकारलाई सम्मान गरिएको छ। सम्मानित हुनेहरूमा नारायण बहादुर सिलवाल, अर्जुन श्रेष्ठ, विकास रौनियार, अनिल अछामी र अशोक श्रेष्ठ रहेका छन् । पत्रकारिताको माध्यमबाट सामाजिक सेवा तथा सामाजिक रूपान्तरणमा गहन भूमिका खेलेको भन्दै पाँच जना पत्रकारहरुलाई लायन्स क्लब अफ काठमाडौं सूर्यमुखीले बुधबार सम्मान गरेको हो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम), लायन्स ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आई नेपालको डिपार्ट्मेण्ट चिफ लायन कृशण बहादुर पौडेल, रीजन चियरपर्सन कृश्ण प्रसाद ढकाल, जोन चिएर पर्सन लायन बद्री अधिकारी, क्लबका निवर्तमान अध्यक्ष लायन विक्रम विश्वकर्मा, क्लबका अध्यक्ष लायन राजाराम रीजाल, कारागार कार्यालय धादिङका कारागार प्रशासक इन्द्र बहादुर खतिवडा, नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाका सभापति दुर्लभ कुमार तामाङ, कोषाध्यक्ष नारायण कुमार श्रेष्ठ, क्लबका प्रथम उपाध्यक्ष लायन डाक्टर दिनेश रेग्मी लगायत क्लबका पदाधिकारी तथा रक्तदाताहरुको सहभागितामा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा सहभागीहरूले सूर्यमुखीले सामाजिक क्षेत्रमा गर्दै आएको कामको प्रशंसा गरेका छन् । बुधबार गरिएको रक्तदान कार्यक्रमले पनि रगत अभाव हुन नदिने र नागरिकलाई रक्तदान गर्ने बानी बसाल्न सहयोग पुगेको उनीहरूले बताएका छन् ।
विगतका दिनहरूमा संस्थाले रक्तदान कार्यक्रम, स्वास्थ्य शिविर जस्ता कार्यक्रम गर्दै आएको संस्थाका निवर्तमान अध्यक्ष विक्रम विकले बताए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
