होटल संघका पदाधिकारीकै होटललाई कारवाही

होटल संघका पदाधिकारीकै होटललाई कारवाही

काठमाडौं–  जिल्ला अनुगमन समितिले होटल संघका पदाधिकारीहरुले सञ्चालन गरेका होटलहरुलाई कारवाही गरेको छ । खानेकुरामा किरा परेको, बासी तथा फोहोर खाना विक्री गरेको जस्ता अखाद्य वस्तु विक्रि गरेको भेटिएपछि कारवाही स्वरुप जरिवाना गरेको हो ।

Advertisement

होटल व्यवसायी संघका केन्द्रीय सचिव सन्तोषकुमार थापा क्षेत्रीको बेनीघाट रोराङ–३ सलाङघाटस्थित सफल होटललाई २५ हजार, जिल्ला होटल संघका अध्यक्ष रामशरण सिलवालको बेनीघाट रोराङ गाउँपालिका–३ सितलबजारस्थित होटल तीनभाइलाई १० हजार र बेनीघाट रोराङ–३ सितलबजारस्थित ब्लु ह्यावन होटललाई ५० हजार रुपैयाँ जरिवाना गरेको हो ।

फ्रिजभित्र किरा भेट्नु भनेको गम्भिर विषय रहेको पशु सेवा कार्यालय धादिङका प्रमुख डाक्टर बबलु डाकुरले बताए । ‘खानेकुरा नछोपी राखेको पाइयो । साङ्ला कमिला जस्ता किरा भेटिनु र यसले झाडापखाला महामारी हुन सक्ने हुँदा यो स्वास्थ्यमाथिको खेलवाड हो’ उनले भने ।

राजमार्ग क्षेत्रका होटल तथा खाजा पसलहरूको अवस्था अत्यन्तै दयनीय भेटिएपछि जिल्ला अनुगमन समितिले बजार अनुगमनलाई तिव्रता दिदै आएको छ । पृथ्वी राजमार्ग आसपासका होटल तथा खाजा पसलहरूमा उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने खालका लापरबाही देखिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मी गौतम (पाण्डेय) ले बताइन् ।

जिल्ला होटल संघका अध्यक्ष रामशरण सिलवालको होटल तीनभाइमा बिक्रीका लागि राखिएका खानेकुरामा किरा परेको तथा सरसफाइको अवस्था कमजोर भेटिएको अनुगमन समितिका सदस्य सचिव उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख चुडामणी पुरिले बताए । होटल व्यवसायी संघका केन्द्रीय सचिव सन्तोषकुमार थापा (क्षेत्री) को होटलको फ्रिजभित्र राखिएको खानेकुरामा समेत किरा परेको भेटिएपछि कारबाही गरिएकोे हो । सरसफाइ नभएको र होटल जताततै फोहोर भेटिएकोले कारवाही गरि निर्देशन दिइएको उनले बताए ।

बेनीघाट रोराङ–३ सितलबजारस्थित ब्लु ह्यावन होटललाई सबैभन्दा बढी ५० हजार रुपैयाँ जरिवाना गरिएको छ । यसअघि गरिएको अनुगमनमा समेत उक्त होटलमा कैफियत देखिएको कारण पुनः कडा कारबाही गरिएको हो । होटलमा बिक्रीका लागि राखिएको खानेकुरामा किरा परेको, फ्रिजभित्र राखिएका सामग्रीमा समेत किरा देखिएको तथा अत्यन्त फोहोर अवस्थामा खाद्य सामग्री बिक्री गरिएको पाइएकोले जरिवाना तथा कार्वाही गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताइन् ।

अनुगमन टोलीले राजमार्ग क्षेत्रमा यात्रु तथा उपभोक्तालाई सेवा दिने होटल तथा रेस्टुरेन्टहरूले सरसफाइ र खाद्य सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने भन्दै स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका विषयमा कुनै सम्झौता नहुने स्पष्ट पारेको छ । राजमार्ग क्षेत्रमा यात्रुको ठूलो चाप रहने भएकाले गुणस्तरहीन तथा अस्वस्थकर खाद्य सामग्री विक्रीले सार्वजनिक स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने भन्दै यस्ता अनुगमनलाई आगामी दिनमा अझ कडाइका साथ निरन्तरता दिइने जिल्ला अनुगमन समितिले जनाएको छ ।
क्याप्सनः
प्रमुख जिल्ला अधिकारी लक्ष्मी गौतम (पाण्डेय)सहितको अनुगमन टोली ।
तस्विरः अर्जुन श्रेष्ठ÷नयाँ पत्रिका दैनिक ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट