काठमाडौं– धादिङको नीलकण्ठ नगरपालिकाले युवाहरुलाई कफी बनाउने (वारिष्टा) तालिम दिएको छ । युवासँग उप–प्रमुख कार्यक्रम अन्तर्गत नगरपालिका भित्रका युवाहरुलाई रोजगारी दिन एक महिने (१६० घण्टा) वारिष्टा तालिम दिइएको हो ।


तालिम लिएर व्यवसायिक क्षेत्रमा लाग्ने प्रेरणा मिलेको तालिममा सहभागी सञ्जय अधिकारीले बताए । ‘सीप सिक्यौं । व्यवसाय गर्न पनि नगरपालिकाले विना व्याज लगानी गरिदिने भनेको छ’ उनले भने– ‘पछिल्लो समय बेरोजगारको संख्या बढी रहेको बेला वारिष्टा तालिमले धेरैलाई रोजगारी दिने अपेक्षा रहेको छ । सके आफ्नै व्यवसाय गर्ने नसके सीप हो अन्यत्र काम पनि गर्न मिल्छ । रोजगारीको बाटो खुल्ने भयो ।’
त्यस्तै, आफ्नै व्यवसाय सञ्चालन गर्न, जागिर खान वा विदेश जानेहरुका लागि पनि राम्रो हुने भएकोले वारिष्ता तालिम निकै प्रभावकारी रहेको तालिममा सहभागी भावना भट्टराइले बताइन् । ‘वारिष्टा धेरैको रोजाईमा परेको पेशा व्यवसाय हो । यो सीपले रोजगारीको बाटो खोलेको छ । घरमा होस् या कार्यालय, देशमा होस् वा विदेश यो सीप बेचेर आम्दानी गर्न सकिन्छ’ उनले भनिन्– ‘युवासँग उप–प्रमुख कार्यक्रम अन्तर्गत यो तालिम आयो । सीप लियौं अव रोजगारी उन्मुख बनेका छौं । नीलकण्ठ नगपालिकालाई हाम्रो धन्यवाद ।’

तालिम समापन समारोहको सम्बोधन गर्दै नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भिमप्रसाद ढुंगानाले स्वरोजगार तथा रोजगारीमा लाग्न युवाहरुलाई आग्रह गरे । ‘नीलकण्ठ नगरपालिकाले सबै युवाहरुलाई केही नि केही सीप सिकाउन चाहन्छ । सीप मात्र होइन, व्यवसाय गर्न पैसा पनि दिन्छ । माग गर्नुहोस्, सीप र लगानी दुवै नगरपालिकाले उपलब्ध गराउँछ’ उनले भने ।

‘विदेशमा गएकाहरुको फोटो र पठाएका डलरको पछि नलाग्न युवाहरुलाई उनले अनुरोध गरेका छन् । हामीे डलर र सुकिला फोटा मात्र देखेका छौं । विदेशमा दुःख कति छन् भनि साध्य छैन । देशमै व्यवसाय गरेर आत्मनिर्भर बन्नुहोस् । हामी सहकार्य गर्न तयार छौं’ उनले भने– ‘निशुल्क शिक्षा, स्वास्थ्य, विकास निर्माण तथा पुर्वाधारको क्षेत्रमा निकै परिवर्तन भएका छन् । अब के गर्न बाँकी छ हामीलाई भन्नुहोस् हामी तपाईहरुकै माग अनुरुपको विकास र सामाजिक रुपान्तरण चाहन्छौं ।’
त्यस्तै, युवाको हातमा सीप र काम, गोजीमा दाम बनाउने उद्देश्यले वारिष्टा तालिमको आयोजना गरिएको नीलकण्ठ नगरपालिकाका उप–प्रमुख दिपक विश्वकर्माले बताए ।

‘यो सीपले युवालाई स्वरोजगार र रोजगारी दिनेछ । हामीले थुप्रै खालका तालिमहरु सञ्चालन गरेका छौं । युवाहरु रोजगारीमा जोडिनुभएको छ’ उनले भने– ‘नीलकण्ठ नगरपालिकाको सिको गरेर अन्य पालिकाहरुले पनि शिक्षा, स्वास्थ्य, विकास तथा पूर्वाधारको क्षेत्रमा काम गरिरहेको छ । नि:शुल्क शिक्षा, प्राविधिक शिक्षा देशकै उदाहरणीय बनेको छ । परिवारसँगै रहेर स्वरोजगार तथा रोजगारी हुने वातावरण बनाउन नगरपालिकाले काम गरिरहेको छ । सिकेको सीप व्यवहारमा लागु गरि आत्मनिर्भर बन्नुुहोस् । आवश्यक रहे थप तालिम र लगानी समेत नगरपालिकाले व्यवस्था गर्नेछ ।’
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
