धादिङ – धादिङको नीलकण्ठ नगरपालिका–३ स्थित थोपल खोलामा १३ वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छन्।
मृतक गङ्गाजमुना गाउँपालिका–१ स्थायी घर भई हाल नीलकण्ठ नगरपालिका–१२ दामगाडेमा बस्दै आएकी सृष्टि तामाङ हुन्। खोला तर्ने क्रममा उनलाई थोपल खोलाले बगाएको थियो।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालका अनुसार घटनास्थलबाट करिब ५०० मिटर तल झाडीमा अड्किएको अवस्थामा उनको शव फेला परेको हो। सांकोष र नीलकण्ठ जोड्ने झोलुङ्गे पुल नजिकैको ड्याम क्षेत्रमा खोलाले बगाएपछि सृष्टिसँगै रहेका दिदीबहिनी तथा साथीहरूले आफन्त र स्थानीयवासीलाई खबर गरेका थिए।
सृष्टिकी आमा हाल भारतमा बसोबास गर्दै आएकी छन्। उनी भने दामगाडेमा आफ्ना बुबा तथा आफन्तसँग बस्दै आएकी थिइन् । उनको शव पोस्टमार्टमका लागि धादिङ अस्पताल पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक दाहालले जानकारी दिए।

