काठमाडौं- धादिङको नीलकण्ठ नगरपालिका–२ तल्लो भुलभुलेका करिब ४६ घरधुरी पहिरोको उच्च जोखिममा परेका छन् । जिल्लाको सदरमुकाम धादिङबेसीमा लगिएको खानेपानी बस्तीको विचबाट बिछ्याइएको पाइपलाइन पटक–पटक फुट्ने र त्यसबाट निरन्तर पानी चुहिने समस्या भएपछि जमिन भासिन थालेको हो ।


करिब १० वर्षदेखि जोखिम मोलेर बस्दै आएको स्थानीयहरुले बताएका छन् । खानेपानी पाइपलाइनकै कारण पहिरिने तथा भारिने समस्या हुन थालेपछि थातथलो नै छाड्नु पर्ने बाध्यता रहेको उनीहरुको गुनासो छ । गत वर्षहरुमा जोखिम मोलेरै बसेपनि यो वर्षको वर्षायाममा झन् अवस्था गम्भीर बनेको स्थानीय लिला गुरुङले बताइन् । ‘पाइपलाइन फुटेर पानी चुहिँदा जमिन कमजोर बन्दै गएको, सडक किनारमा संरक्षणका लागि राखिएको ग्याबिन जालीसमेत भासिन थालेपछि बस्तीमुनिको भूभाग थप जोखिमपूर्ण बनेको हो’ उनले भनिन् ।

बस्तीमाथिबाट पाइपलाइन लैजानुको सट्टा सडकमार्ग हुँदै व्यवस्थापन गर्न पटक–पटक आग्रह गरे पनि सम्बन्धित निकायले बेवास्ता गरेको उनीले गुनासो गरिन् । ‘१० वर्षदेखि यही समस्या भोगिरहेका छौं । सडकबाट पाइपलाइन लैजान आग्रह गर्दा पनि सुनुवाइ भएन। हाम्रो बस्तीलाई जोखिममा राखेर खानेपानी लगिएको छ । अब समयमा समाधान खोजिएन भने हाम्रो ज्यान जोखिममा छ’ उनले भनिन् ।
पछिल्लो समय जमिन चर्किने, माटो खस्ने र भासिने क्रम बढ्न थालेपछि तल्लो भुलभुलेबासी उच्च जोखिममा परेको दिपक श्रेष्ठले बताए । ‘नगरपालिका र जिल्ला प्रशासनलाई समस्या थाहा हुँदाहुँदै पनि समाधान हुन सकेको छैन। अब बस्तीमुनि सडकबाट मात्र पाइपलाइन लैजानुपर्ने हाम्रो माग छ। समयमै समाधान नभए जुनसुकै बेला ठूलो दुर्घटना हुन सक्छ, ’ उनले भने ।
वर्षायाम सुरु भएसँगै जोखिम थप बढेको स्थानीय दीपक अधिकारीले बताए । निरन्तरको वर्षाका कारण भासिएको क्षेत्र विस्तार हुँदै बस्ती नजिकसम्म पुगेको छ । ‘पाइप फुटेर निरन्तर पानी चुहिने समस्या छ। त्यसले जमिन कमजोर बनेका छ । अहिले पहिरिने र भासिन थालेको छ । तत्काल समस्या समाधान नभए सबै घर पुरिने जोखिम छ। समयमै रोकथाम गर्न नसकिए ठूलो जनधनको क्षति हुन सक्छ,’ उनले भने।
स्थानीयले सम्बन्धित निकायसँग तत्काल प्राविधिक टोली परिचालन गरी जोखिम क्षेत्रको अध्ययन गरि समाधान गर्न माग गरेका छन् । भासिएको स्थानमा थप संरक्षणका काम अघि बढाउन, ग्याबिन जाली मर्मत गर्न तथा आवश्यक स्थानमा पर्खाल निर्माण गरी बस्ती सुरक्षित बनाउन माग गरेका छन् । साथै नीलकण्ठ नगरपालिका, जिल्ला विपद् व्यवस्थापन समिति तथा सरोकारवाला निकायलाई जोखिम क्षेत्रको अनुगमन गरी आवश्यक पूर्वतयारी र संरक्षणका काम तत्काल अघि बढाउन उनीहरुले माग गरेका छन् ।
यसअघि पहिरो नियन्त्रणका लागि ६५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको ग्याविन जाली पनि बग्न थालेको छ । बस्ति नै उच्च जोखिममा परेपछि बस्ति भित्रबाट राखिएको पाइप हटाइ सडकको नालासँगै सुरक्षित रुपमा पाइपलाइन विस्तार गरिनुपर्ने स्थानीयहरुले माग गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)ले बस्ति उच्च जोखिम रहेकोले दीर्घकालिन समाधान खोजिनु पर्ने बताएकी छन् । ‘हामीले स्थलगत रुपमा निरिक्षण गरेर आयौं । बस्तिको विचबाट खानेपानीको पाइपलाइन विछ्याइएको छ । कमजोर माटोका कारण जमिन भासिएको छ । फुटेका पाइपलाइनहरु तत्काल जोड्ने र सरोकारवाला निकाय बसेर दीर्घकालिन समाधान खोज्छौं’ उनले भनिन् ।
नीलकण्ठ नगरपालिकाका उपप्रमुख दीपक विश्वकर्माले पनि समस्या समाधानका लागि सरोकारवाला निकाय र स्थानीयसँग छलफल भइरहेको बताएका छन् । ‘यो लामो समयदेखिको समस्या हो । स्थलगत अनुगमन गरी सम्भावित जोखिम र समाधानका उपायबारे छलफल भइरहेको छ । सकभर छिटो समाधान गर्न हामी सरोकारवाला निकाय लागिरहेका छौं’ उनले भने ।

