काठमाडौं– पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–२, चालिसेमा गत असार मात्रै मालवाहक ट्रक सडकमा बिग्रदा घण्टौ जाम पर्यो । ट्रक हटाउन सरकारी हेभी–ड्युटी क्रेन नहुदा अन्य थुप्रै सवारी तथा यात्रुहरुले दिनभर सास्ती खेपे ।


केही दिनअघि फेरि त्यस्तै घटना दोहोरियो । पृथ्वीराजमार्गमै एउटा बोलेरो बीच सडकमा बिग्रियो । सरकारी हेभी–ड्युटी क्रेन, रिकभरी ट्रक वा आधुनिक उद्धार उपकरण नहुदा सानो सवारी भए पनि हटाउन घण्टौं लाग्यो।
यी दुई घटना पृथ्वी राजमार्गका प्रतिनिधि उदाहरण मात्रै हुन्। यो राजमार्गमा सवारी बिग्रिएपछि लामो जाम लाग्ने, यात्रु अलपत्र पर्ने र आकस्मिक सेवा प्रभावित हुने समस्या नियमितजस्तै बनेको छ।
देशकै लाइफलाइन मानिने पृथ्वी राजमार्ग देशका ६५ जिल्लालाई संघीय राजधानी काठमाडौंसँग जोड्ने मुख्य मार्ग हो । दैनिक १३ हजार आसपास यात्रुवाहक र मालवाहक सवारी यही मार्गबाट गुड्छन्। राजधानीका लागि आवश्यक खाद्यान्न, इन्धन, निर्माण सामग्री र औद्योगिक उत्पादन यही बाटो हुँदै पुग्छ। तर यहि राजमार्गमा ठूला सवारी बिग्रिए वा दुर्घटनामा परे तत्काल हटाउने सरकारी हेभी–ड्युटी क्रेन, रिकभरी ट्रक वा आधुनिक उद्धार उपकरण छैन ।
सडकका धेरै खण्ड साँघुरा छन्। पृथ्वीराज मार्ग मर्मत भइरहेको छ। सामान्य खराबी छिट्टै मर्मत भए पनि इन्जिन, एक्सल वा ब्रेकमा समस्या आए सवारी घण्टौं सडकमै रहन्छ । दुर्घटनाका बेला सडक खुलाउन अझ बढी समय र कष्ट हुन्छ।
यस्तो अवस्थामा निजी क्षेत्रको क्रेनको भर पर्नुपर्छ। उपकरण आइपुग्न समय लाग्छ। सडक खुलाउन थप ढिलाइ हुन्छ। यही ढिलाइले जामलाई झन् लम्ब्याउने गरेको छ । एउटा ट्रक वा बस बिग्रिएपछि दुवैतर्फ सवारी आवागमन बन्द हुने गरेको स्थानीयहरु बताउँछन् ।
सरकारी हेभी–ड्युटी क्रेन, रिकभरी ट्रक वा आधुनिक उद्धार उपकरण नहुदा सबैभन्दा ठूलो मार चालक र सहचालकले खेप्नु परेको चालक तस्वीर कुमाल बताउँछन् । ‘बीच सडकमै बिग्रिएको सवारी कुरेर बस्नुपर्छ। मर्मतका लागि घण्टौं पर्खिनुपर्छ। कतिपय अवस्थामा रातभर सडकमै बस्नुपर्ने अवस्था पनि आउँछ’ उनले भने ।
राजमार्गका उपयुक्त स्थानमा उद्धार उपकरण राख्न सके चालक र यात्रु दुवैलाई राहत पुग्ने चालक प्रदिप भट्ट बताउँछन् । उनले भने-‘ सरकारले सडकमा लगानी गरेको छ । सडक चौडा पनि बनेको छ । तर दुर्घटनाबाट अकालमै ज्यान गुमाइरहेको विषयलाई ध्यान दिएको छैन । समयमै उद्दार र उपकरण भए सम्भावित जोखिम र क्षेती कम गर्न सकिन्छ ।’
जामको असर आकस्मिक सेवा झन् गम्भीर हुने गरेको एम्बुलेन्स चालक भेषराज ठकुरीले बताए । ‘बिरामीलाई अस्पताल पुर्याउन हतार हुन्छ । सेकेन्डको भरमा मानिसको जीवन बाँच्न सक्छ । तर कहिलेकाहीँ एम्बुलेन्स पनि जाम्मै रोकिन्छन् । मिनेटको ढिलाइले पनि बिरामीको ज्यान जोखिममा पर्न सक्छ । यस विषयमा सरकारले ध्यान दिन आवश्यक छ ।
यात्रुहरू भने प्राविधिक रूपमा कमजोर र जीर्ण सवारीसाधनको नियमित परीक्षण कडा गर्नुपर्ने र बिग्रिएका सवारी तत्काल हटाउने आधुनिक उद्धार प्रणाली व्यवस्था गर्नुपर्ने बताउँछन्। एउटा सवारी बिग्रिँदा सयौं यात्रुले दुःख पाउनु राज्यको तयारीकै कमजोरी भएको उनीहरूको भनाइ छ।
विशेषगरी बढी भार बोकेका ट्रक र ठूला बस बिग्रिँदा ट्राफिक व्यवस्थापन निकै चुनौतीपूर्ण बन्ने गरेको जिल्ला ट्राफिक कार्यालय गजुरीका प्रमुख शिशिर थापाले बताए । सडकमा बिग्रेका तथा दुर्घटनामा परेका सवारी साधन समयमै हटाउन सके सवारी जाम घटाउन र सडक सुरक्षामा ठुलो सहयोग पुग्ने उनको भनाइ छ।
धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमले आवश्यक उद्धार उपकरण व्यवस्थापनको प्रक्रिया अघि बढेको बताइन्। हाल निजी क्षेत्रबाट क्रेन भाडामा लिएर काम चलाइएको र दीर्घकालीन समाधानका लागि पहल भइरहेको उनको भनाइ छ ।
अहिले पृथ्वी राजमार्ग मर्मत तथा चौडा बनाउने काम भइरहेको छ । तर सडक सुरक्षा र सरकारी हेभी–ड्युटी क्रेन, रिकभरी ट्रक वा आधुनिक उद्धार उपकरणमा भने सरकारको ध्यान पुग्न सकेको छैन । देशको ‘लाइफलाइन’ मानिने पृथ्वी राजमार्गलाई अब चौडा सडक मात्र होइन, तत्काल उद्धार गर्न सक्ने आधुनिक प्रणाली पनि उत्तिकै आवश्यक छ।

