काठमाडौं– धादिङको नीलकण्ठ नगरपालिका-२ स्थित तल्लो भुलभुलेमा पहिरोका कारण चार घर विस्थापित बनेका छन् । घर माथिबाट पहिरो खस्न थालेपछि दिलबहादुर गुरुङ, गोविन्द श्रेष्ठ, हिराबहादुर श्रेष्ठ र अमृत गुरुङका घरहरू पहिरोको उच्च जोखिममा परेका हुन् । यी चार घरसहित ४६ परिवार पहिरोको उच्च जोखिममा परेका हुन् ।
पहिरोले दिलबहादुर गुरुङको घर पूर्ण रूपमा क्षति पुगेको छ । पहिरोको उच्च जोखिम बढेपछि चारवटै परिवार आफ्नो थातथलो छाडेर विस्थापित भएका छन् । माथिबाट पहिरिने कमजोर जमिन साथै धादिङबेसीमा खानेपानीको लागि लगिएको मुख्य पाइपलाइन फुट्न थालेपछि तल्लो भुलभुलिका स्थानीयहरू पहिरोको उच्च जोखिममा रहेका हुन् ।
पहिरोका कारण सदरमुकाम धादिङबेसीका करिब २ हजार ५ सय घरधुरीमा खानेपानीको वितरण नै पूर्ण रूपमा ठप्प भएको छ । पहिरोले गाउँको करिब २ सय रोपनी खेतीयोग्य जग्गामा क्षति पुगेको स्थानीयले जानकारी दिएको छ । प्रदेश सरकार र नीलकण्ठ नगरपालिकाको साझेदारीमा निर्माण गरिएको ६०० घनमिटरको तारजाली (ग्याबिन) पर्खाल समेत पहिरोले ढालेपछि प्रदेश सरकारको ६५ लाख रुपैयाँ बराबरको लगानी अलपत्र परेको छ।
जिल्ला प्रहरी कार्यालयको टोली, नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीमप्रसाद ढुंगाना, उपप्रमुख दीपक विश्वकर्मा, नीलकण्ठ खानेपानी तथा स्वच्छता व्यवस्थापन बोर्डका अध्यक्ष शिव अधिकारी लगायतको टोलीले पहिरोग्रस्त क्षेत्रको प्रत्यक्ष स्थलगत अवलोकन गरेको छ। निरीक्षण पश्चात् टोलीले फुटेको पाइप मर्मत गरी खानेपानी सुचारु गर्ने र विस्थापित एवम् जोखिममा परेको बस्ती संरक्षणका लागि तत्काल आवश्यक पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
पहिरोले फुटेको मुख्य पाइपलाइन मर्मतकार्य भइरहेको छ। मर्मतको काम पछि आज साँझसम्म पाँचवटा पाइपलाइनमध्ये केही पाइपलाइन सुचारु गरेर धादिङबेसीमा खानेपानीको व्यवस्था गरिने समितिले जनाएको छ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
